कलैया । बाराका मुस्लिम समुदायले मंगलबार साँझदेखि आफ्ना दिवंगत आफन्तहरूको सम्झनामा शब–ए–बरात पर्व श्रद्धा र भक्ति भावका साथ मनाएका छन्। राती मनाइने यस पर्वलाई मुस्लिम समुदायले क्षमाको रात तथा पुण्यको रातका रूपमा लिने गर्छन्।
शब-ए-बरातको अवसरमा कलैया उपमहानगरपालिका वडा नं. १५ बकुलहरस्थित मस्जिदमा मुस्लिम धर्मावलम्बीहरू भेला भई विशेष नमाज अदा गरेका छन्। नेपाल मुस्लिम संघका केन्द्रीय महासचिव प्रवेज आलम अंसारीका अनुसार यस अवसरमा पवित्र कुरआन पाठ गर्ने, अल्लाहसँग आफ्ना पापको क्षमा माग्ने र दिवंगत आफन्तहरूको आत्माको शान्तिका लागि प्रार्थना गर्ने परम्परा रहेको छ।
वडा नं. १५ का वडा सदस्य ओहाब अंसारीले शब-ए-बरातको अवसरमा कब्रिस्तानमा गई फातिहा पढ्ने चलन पनि रहेको जानकारी दिए। साथै यस पर्वमा घर-घरमा विशेष परिकार तयार गरी छिमेकी तथा गरिब-दुःखीलाई खाना तथा दान दिने परम्परा रहेको उनले बताए।
नेपाल मुस्लिम संघका केन्द्रीय महासचिव अंसारीका अनुसार यस्ता धार्मिक तथा सामाजिक गतिविधिले सामाजिक सद्भाव, आपसी सहयोग र मानवताको भावना प्रवद्र्धन गर्न सहयोग पुग्ने गर्दछ। धार्मिक विद्वानहरूका अनुसार शब-ए-बरातको रात अल्लाहले मानिसहरूको भाग्य, जीविका, जीवन र मृत्युको निर्णय लेख्ने विश्वास गरिन्छ, त्यसैले यस रातलाई अत्यन्त महत्वपूर्ण मानिन्छ।
यो पर्व बाराका बकुलहर, मझौलिया, पुरैनिया, बसतपुर, पकडी, महेशपुर, गजभवानीपुर, नौतन, कलैया, जीतपुर, सितालपुरलगायत नेपालका विभिन्न मुस्लिम समुदाय बसोबास गर्ने स्थानहरूमा शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्दै धार्मिक मर्यादाभित्र रही मनाइएको नेपाल मुस्लिम संघले जनाएको छ।

