प्रसौनीमा ३ करोड भन्दा बढीको लागतमा विद्यालय–पुस्तकालय भवन निर्माण हुदै

रञ्जन यादव
229 पाठक संख्या

जीतपुर । बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बंगा साह माध्यमिक विद्यालयमा नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य सुरु भएको छ।

सोमबार आयोजित एक कार्यक्रममा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको पहलमा उक्त परियोजनाको शिलान्यास गरिएको हो। महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा सो निर्माण कार्यको शुभारम्भ गरेका हुन।

भारत सरकारको करिब ३ करोड ३२ लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना उच्च प्रभाव सामुदायिक विकास कार्यक्रमअन्तर्गत सञ्चालनमा आएको छ ।

निर्माण सम्पन्न भएपछि यो भवनमा आधुनिक कक्षाकोठा, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, क्यान्टिन र शौचालयसहितका पूर्वाधार रहनेछन्। साथै, आवश्यक फर्निचर तथा शैक्षिक सामग्रीको पनि व्यवस्था गरिने जनाइएको छ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै यो परियोजनाले विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने बताएका छन ।

शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जैसवालले नेपाल–भारतबीचको सहकार्य शिक्षा लगायतका क्षेत्रमा निरन्तर विस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता परियोजनाले स्थानीय विकासमा महत्वपूर्ण योगदान पु-याउने धारणा राखेका छन ।

Leave a review

This will close in 0 seconds