निजी विद्यालयको ईएमआईएस प्रणाली बन्द गर्ने उपमहानगरपालिकाको निर्णयमा उच्च अदालतको ब्रेक

रञ्जन यादव
169 पाठक संख्या

सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले सञ्चालनमा रहेको एक निजी विद्यालयको शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) बन्द गरेपछि उक्त निर्णयलाई अदालतबाटै रोकिएको छ। उच्च अदालतको अस्थायी इजलास वीरगञ्जले सिमरा स्थित माउण्ट एभरेष्ट माध्यमिक विद्यालयको (ईएमआईएस) बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उपमहानगरपालिकाको निर्णय कार्यान्वयनमा तत्काल रोक लगाएको हो।

उपमहानगरपालिकाले पछिल्लो समय अनुमति विपरीत सञ्चालन भएका तथा लामो समयदेखि बन्द रहेका विद्यालयहरूको (ईएमआईएस) निष्क्रिय बनाउने अभियान चलाइरहेको छ। तर विद्यालय पक्षले आफूहरू नियमित सञ्चालनमा रहेको अवस्थामा समेत कुनै स्पष्ट कानुनी आधार र पर्याप्त सुनुवाइको अवसर नदिई (ईएमआईएस) बन्द गरिएको दाबी गर्दै अदालतको ढोका ढकढकाएको थियो।

रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएसँगै उपमहानगरपालिकाको निर्णय प्रक्रिया विवादमा तानिएको छ। विद्यालयको अस्तित्व र विद्यार्थी अभिलेखसँग प्रत्यक्ष जोडिएको (ईएमआईएस) जस्तो संवेदनशील प्रणाली बन्द गर्ने विषयमा स्थानीय तहले कानुनी प्रक्रिया पालना गरे–नगरेको प्रश्न समेत उठेको छ।

निजी विद्यालयमाथि कडाइ गर्ने नाममा प्रशासनिक निर्णयहरू कानुनी परीक्षणको घेरामा पर्न थालेपछि शिक्षा क्षेत्रभित्र स्थानीय सरकारको अधिकार, नियमनको सीमा र प्रक्रियागत न्यायबारे नयाँ बहस सुरु भएको एक निजी विद्यालय व्यावसायीको भनाई छ ।

अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अन्तिम आदेश नआएसम्म विद्यालयको (ईएमआईएस) यथावत् रहनेछ भने उपमहानगरपालिकाको निर्णयको वैधानिकता अब अदालतकै परीक्षणबाट टुंगो लाग्नेछ। यधपी यस विषयमा उपमहानगरपालिकाको प्रतिक्रिया आउन सकेन ।

Leave a review

This will close in 0 seconds