कलैया । नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले विद्युत चुहावट तथा चोरी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै बाराका विभिन्न स्थानबाट अनधिकृत रूपमा सञ्चालन गरिएका १४ वटा विद्युतीय उपकरण बरामद गरेको छ।
बुधबार सुरक्षाकर्मीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न क्षेत्रमा अनुगमन गर्दा प्राधिकरणको स्वीकृतिबिनै विद्युत प्रयोग गरेर सञ्चालन गरिएका उपकरण फेला परेपछि नियन्त्रणमा लिएको वितरण केन्द्रले जनाएको छ।
बरामद गरिएका उपकरणमा २ (एचपी) का तीन वटा मोटर, १ एचपीका सात वटा मोटर, आधा एचपीको एउटा मोटर, एउटा कम्प्रेसर, एउटा फ्रिज तथा एउटा विद्युतीय पंखा रहेका छन्। ती उपकरण अवैध रूपमा विद्युत जडान गरी प्रयोग भइरहेको प्रारम्भिक अनुगमनबाट खुलेको प्राधिकरणको भनाइ छ।
विद्युत प्राधिकरणले पछिल्लो समय चुहावट नियन्त्रण तथा राजस्व संरक्षणलाई प्राथमिकतामा राख्दै जिल्लाभर नियमित अनुगमन सञ्चालन गरिरहेको जनाएको छ। अनधिकृत रूपमा विद्युत प्रयोग गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्राधिकरणले दिएको छ।
वितरण केन्द्रले विद्युत चोरी नगर्न तथा मिटरमार्फत वैधानिक रूपमा मात्र विद्युत उपभोग गर्न सबै उपभोक्तासँग आग्रह गरेको छ। प्राधिकरणका अनुसार विद्युत चोरी नियन्त्रणका लागि आगामी दिनमा पनि अनुगमन अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिनेछ।


