कलैया : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले बारा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको अन्तिम निर्णय सार्वजनिक गरेको छ। उम्मेदवार घोषणासँगै पार्टीभित्र दबिएको असन्तुष्टि फेरि सतहमा आएको छ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले शनिबार गरेको निणर्यबाट बाराको चार वटा क्षेत्रमा बारा–१ बाट अच्युत मैनाली, बारा–२ बाट बलवीर चौधरी, बारा–३ बाट ज्वालाकुमारी साह र बारा–४ बाट कृष्णकुमार श्रेष्ठ (किसान) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यी चारै जना पार्टीका पुरानै अनुहार हुन भने चारैजना खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीको निकटका नेता हुन ।
छनौट भएका उम्मेदवारमध्ये मैनाली, साह र श्रेष्ठ हालका निवर्तमान संघीय सांसद हुन् भने चौधरी २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए। मैनालीले बारा–१ बाट तेस्रो पटक निर्वाचन मैदानमा उत्रिने अवसर पाएका छन् भने साह र श्रेष्ठ दोस्रो पटक संघीय संसद प्रवेश गर्ने प्रयासरत छन्।
श्रेष्ठ केही समयअघि मात्र नेकपा (एकीकृत समाजवादी) त्यागेर एमाले फर्किएका हुन्। २०७९ को निर्वाचनमा बारा ४ बाट नै तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा विजयी भएका थिए। २०७९ मा एमालेका एकवाल मियाँलाई १० हजारभन्दा बढी मतले पराजित गरेका श्रेष्ठलाई यसपटक एमालेकै तर्फबाट मैदानमा उतारिँदा पार्टीभित्र ‘रणनीतिक लाभ’ भन्दा ‘राजनीतिक समायोजन’ हाबी भएको धेरैले टिप्पणी गर्न थालेका छन ।
अघिल्लो निर्वाचनको मत परिणामलाई विश्लेषण गर्ने हो भने पनि बाराको राजनीति जटिल रहेको देखाउँछ। २०७९ मा मैनाली र साह दुवैले आफ्ना प्रतिद्वन्द्वीलाई उल्लेखनीय मतान्तरले हराएका थिए। तर, बारा–२ मा २०७९ मा जसपाबाट हालका उपराष्टपति रामसाहाय यादव विजयी र २०८० वैशाखमा भएको उपनिर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएसँगै त्यो क्षेत्र एमालेका लागि चुनौतीपूर्ण बन्दै गएको छ।
यसैसन्दर्भमा एमालेमा उम्मेदवार छनोट प्रक्रियाले पार्टीभित्र प्रश्नहरू उठाएको छ। खसगरी बारा–३ मा ज्वालाकुमारी साहलाई टिकट दिनु सबैभन्दा विवादास्पद विषय बनेको हो । उम्मेदवार छनौट प्रकृयामा क्षेत्रीय कमिटीको आन्तरिक निर्वाचनमा साहले अत्यन्त न्यून मत पाएकी थिइन् र सिफारिस सूचीबाटै हटाइएकी थिइन्। तर, केन्द्रीय तहबाट सो निर्णयलाई उल्टाउदा कार्यकर्तामाझ थप असन्तोष चुलिएको पार्टी स्रोतले जनाएको छ।
त्यसैगरी बारा–२ मा यस्तैखाले समस्या देखिएको छ । बारा २ मा बलवीर चौधरीलाई टिकट दिइँदा पार्टी सङ्कटका बेला अग्रपंक्तिमा देखिएका नेताहरू पाखा परेको गुनासोका स्वारहरु पनि सुनिन थालेको छ। २०८० को उपनिर्वाचनमा उम्मेदवारी दिएका पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई यसपटक टिकट नदिनु गुटगत निर्णय भएको एमालेभित्रकै नेताहरूले आरोप लगाउन थालेका छन्।
पार्टीको यो निर्णयले स्थानीय संगठनभन्दा केन्द्रीय शक्ति सन्तुलनलाई बढि प्राथमिकता दिएको पार्टीका केही नेताहरूको आरोप छ । यस्ता खाले निणर्यले कार्यकर्ताको उत्साह कमजोर पार्न सक्छ र निर्वाचनमा पार्टीको सामूहिक क्षमतामाथि नै प्रश्न उठाउन सक्छ, एक नेताले बताए ।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा बारामा एमालेले सामना गर्नुपर्ने चुनौती अब बाह्य प्रतिस्पर्धी मात्र नभई आन्तरिक व्यवस्थापन समेत बनेको देखिन्छ । उम्मेदवार छनोटले उत्पन्न गरेको असन्तोषलाई कसरी समेटिन्छ भन्ने विषयले नै बारामा एमालेको चुनावी भविष्य निर्धारण गर्ने संकेत देखिएको छ।

