चुरियामाईमा भारतीय ट्रेलरको ठक्करबाट पाँच सवारीसाधनमा क्षति

साझेदारी डेलि
30 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक भारतीय ट्रेलर ट्रकले पाँच वटा सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति करिब १० बजे हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको एचआर ६९ डि ७९६९ नम्बरको भारतीय ट्रेलर ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा गई अनियन्त्रित भएर पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका पाँच वटा सवारीसाधनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा ना.१ ज ६८८१ नम्बरको कार (ट्याक्सी), लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यान, बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यान, ना.४ च ५३३४ नम्बरको योद्धा पिकअप र बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको छ ।

ट्रेलरको ठक्करबाट ट्याक्सीको अगाडिको भागमा क्षति पुगेको छ भने भ्यानको अगाडि र पछाडिको भागमा क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, ओम्नी भ्यानको अगाडिको भाग कुच्चिएको, योद्धा पिकअपको बायाँ भागमा क्षति हुनुका साथै अगाडिको सिसा फुटेको र ईभी गाडीको अगाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनापछि भारतीय ट्रेलरका चालक घटनास्थलबाट फरार भएका छन् । दुर्घटनाका कारण केही समय सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले क्रेनको सहयोगमा ट्रेलर हटाउनुका साथै अन्य सवारीसाधनलाई समेत घटनास्थलबाट कार्यालयतर्फ ल्याएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार शनिबार बिहान करिब २ बजे सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds