गुरु पूर्णिमामा ‘काशी प्रसाद वाल अक्षयकोष’ घोषणा, विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने लक्ष्य

साझेदारी डेलि
395 पाठक संख्या

कलैया । गुरु पूर्णिमाको अवसर पारेर कलैया उपमहानगरपालिका–२० बसतपुर बजारमा ‘काशी प्रसाद वाल अक्षयकोष’ स्थापना घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। शिक्षाको क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित स्थापना गरिएको अक्षयकोषबाट आर्थिक रूपमा कमजोर तथा असहाय विद्यार्थीलाई सहयोग गरिने जनाइएको छ।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, शिक्षक, समाजसेवी, अभिभावक तथा सर्वसाधारण गरी करिब २०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा गुरु श्री काशी प्रसादलाई सम्मान गर्दै उहाँले समाज र शिक्षाको क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा गरिएको थियो।

कार्यक्रमको अध्यक्षता श्री काशी प्रसादले गर्नुभएको थियो भने नेपाल शिक्षक संघ बाराका अध्यक्ष श्री राजकिशोर सहनी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै विज्ञान शिक्षक समाज बाराका सचिव श्री पवन यादव विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा वक्ताहरूले गुरुको सम्मान गर्ने संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै शिक्षा र सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए।

अक्षयकोष स्थापनाका लागि विभिन्न दाताहरूबाट करिब २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको आयोजकले जनाएको छ। संकलित रकमलाई मुद्दती खातामा राखी त्यसबाट प्राप्त ब्याजमार्फत कलैया उपमहानगरपालिका–२० का असहाय तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ।

कार्यक्रममा शिववालक गिरी, कृष्ण प्रसाद गुप्ता, प्रदीप कुमार गुप्ता, कपिलदेव प्रसाद, संजय यादव, प्रयाग पण्डित, बिनोद साह कानु, सुरेन्द्र यादव, हारुन अन्सारी, बिनोद प्रसाद, श्री नारायण महतो, छट्ठु साह, जितेन्द्र सिंह, मदन दाश बनिया, राम विजय साह, राजनन्दन यादव, ओमप्रकाश प्रसाद, जितेन्द्र साहलगायतका व्यक्तिहरूले गुरु श्री काशी प्रसादलाई सम्मान गर्नुभएको थियो।

आयोजकका अनुसार अक्षयकोषमा स्वेच्छाले सहयोग गर्न इच्छुक व्यक्तिहरूले भदौ मसान्तभित्र श्री कृष्ण प्रसाद गुप्तामार्फत रकम उपलब्ध गराउन सक्नेछन्। भदौ मसान्तपछि संकलित सम्पूर्ण रकमलाई मुद्दती खातामा जम्मा गरी व्यवस्थित रूपमा सञ्चालन गरिनेछ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष श्री काशी प्रसादले अतिथि, सहयोगदाता, सम्मान गर्ने व्यक्तित्व तथा सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै अक्षयकोषलाई पारदर्शी र दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गुरु पूर्णिमाको अवसरमा सुरु गरिएको ‘काशी प्रसाद वाल अक्षयकोष’ अभियानले शिक्षा क्षेत्रमा सामाजिक सहयोगको नयाँ उदाहरण प्रस्तुत गरेको आयोजकको भनाइ छ।

Leave a review

This will close in 0 seconds