सुरक्षा चुनौती बढेपछि बारासहित १५ जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन, बारामा एसएसपी होबिन्द्र बोगटी

साझेदारी डेलि
137 पाठक संख्या

बारा । तराई–मधेश क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले एआईजीदेखि एसएसपीसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न संवेदनशील जिल्लामा फिल्डमा खटाएको छ।

सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको घटनापछि मोरङ, सुनसरी, सिरहा, धनुषालगायतका जिल्लामा तनाव, आगजनी र झडपका घटना बढेपछि सुरक्षा व्यवस्थापन थप कडा पारिएको हो। प्रभावित क्षेत्रमा कर्फ्यु लगाउनुका साथै नेपाली सेनासमेत परिचालन गरिएको छ।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार सुरक्षा अवस्था, सूचना संकलन, स्रोत–साधन व्यवस्थापन र सुरक्षा कार्ययोजनालाई प्रभावकारी बनाउन उच्च अधिकारीहरूलाई फिल्डमा पठाइएको हो।

बारा जिल्लाको सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीलाई खटाइएको छ।

त्यस्तै एआईजी सिद्धीविक्रम शाहलाई बाँके, एआईजी हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, एआईजी उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश र सुनसरीको जिम्मेवारी दिइएको छ। डीआईजी दिनेशकुमार आचार्यलाई सिरहा तथा डीआईजी अबि नारायण काफ्लेलाई सप्तरीमा खटाइएको छ।

यसैगरी, एसएसपी गोपालचन्द्र भट्टराईलाई सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौरलाई पर्सा, एसएसपी दीप शम्शेर जबरालाई रौतहट, एसएसपी नवराज अधिकारीलाई चितवन, एसएसपी कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, एसएसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, एसएसपी भुवनेश्वर तिवारीलाई धनुषा तथा एसएसपी अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a review

This will close in 0 seconds