धनुषामा निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने

रासस
15 पाठक संख्या

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि हटाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ः०० बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइने भएको हो । स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १०ः०० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको छ । पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा उक्त निषेधाज्ञा हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाइएपछि नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ । प्रशासनको निर्णयसँगै जनकपुरधाम क्षेत्रमा यातायात, व्यापार तथा अन्य सार्वजनिक गतिविधि सहज रूपमा सञ्चालन हुने विश्वास छ ।

Leave a review

This will close in 0 seconds