मध्यवर्ती क्षेत्रका ४ हजार ५ सय सदस्यलाई संरक्षण र सहकारी शिक्षा

रञ्जन यादव
34 पाठक संख्या

जीतपुर । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ता समूहका सदस्यलाई वन्यजन्तु संरक्षणसँगै सहकारीसम्बन्धी ज्ञान प्रदान गर्ने अभियान सुरु गरिएको छ।

स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रूपमा शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएका हुन्।

कार्यक्रमको पहिलो चरण जीतपुरसिमरा उपमहानगरपालिका–६ नागौलस्थित जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहबाट सुरु गरिएको जनहित उपभोक्ता समितिले जनाएको छ।

मध्यवर्ती क्षेत्रभित्र रहेका ६४ वटा उपभोक्ता समूहमा कार्यक्रम विस्तार गर्ने तयारी गरिएको छ। ती समूहमा आबद्ध करिब ४ हजार ५ सय सदस्यलाई संरक्षण र सहकारीका विभिन्न विषयमा जानकारी तथा प्रशिक्षण दिइने जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीलाई वन तथा वन्यजन्तुको संरक्षण, जैविक विविधताको महत्व र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे जानकारी दिइनेछ। प्राकृतिक स्रोतको संरक्षणमा स्थानीय समुदायले निर्वाह गर्नुपर्ने भूमिका, जिम्मेवारी तथा संरक्षण अभियानमा समुदायको सहभागिताका विषयलाई पनि प्रशिक्षणमा समेटिनेछ।

त्यस्तै, सहकारी शिक्षातर्फ सहकारीको उद्देश्य र आधारभूत सिद्धान्त, सदस्यका अधिकार तथा दायित्व, बचतको सदुपयोग, ऋण परिचालन, आर्थिक अनुशासनलगायत विषयमा जानकारी दिइने भएको छ। सहकारीलाई आयआर्जन र आर्थिक आत्मनिर्भरताको माध्यमका रूपमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे समेत सदस्यलाई अभिमुखीकरण गरिने जनाइएको छ।

अध्यक्ष श्रेष्ठले मध्यवर्ती क्षेत्रको संरक्षण र व्यवस्थापनमा स्थानीय बासिन्दाको प्रत्यक्ष भूमिका रहने भएकाले उनीहरूलाई संरक्षणसम्बन्धी ज्ञान दिन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार वन्यजन्तु संरक्षण र समुदायको आर्थिक विकासलाई सँगसँगै अघि बढाउन सके संरक्षणप्रति स्थानीयको अपनत्व अझ बलियो बनाउन सकिन्छ।

“संरक्षणमा समुदायको जिम्मेवारी र सहकारीमा सदस्यको भूमिका स्पष्ट पार्नु कार्यक्रमको मुख्य उद्देश्य हो,” श्रेष्ठले भन्नुभयो।

समुदायलाई वन, वन्यजन्तु र प्राकृतिक स्रोतप्रति थप जिम्मेवार बनाउँदै सहकारीमार्फत आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित अभियानलाई मध्यवर्ती क्षेत्रका सबै लक्षित उपभोक्ता समूहसम्म पुर्‍याइने जनहित उपभोक्ता समितिले जनाएको छ।

Leave a review