बारा । संरक्षण नेपाल बाराको २५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम शुक्रबार कलैयामा सम्पन्न भएको छ। बारा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष बृजमोहन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक हिरालाल चौधरीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उक्त अवधिमा १० करोड १६ लाख २४ हजार २ सय ७६ रुपैयाँ प्राप्त गरेको र ९ करोड ६२ लाख ७ हजार ९ सय ६७ रुपैयाँ ३९ पैसा खर्च भएको जानकारी दिए। संस्थाले बारा,पर्सा,रौतहट र सर्लाहीमा महिला,बाल अधिकार, स्वास्थ्य तथा कृषि क्षेत्रमा केन्द्रित ६ वटा परियोजना सञ्चालन गर्दै आएको उनले बताए ।
सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारी रञ्जना लामिछाने, निरञ्जन कुशवाहा र वीरेन्द्र प्रसाद सिन्हालाई कदरपत्रसहित सम्मान गरिएको थियो। संस्थाको संस्थागत विकासमा स्थापनाकालदेखि योगदान पुर्याउँदै आएका रामदेव राउत, जयमंगल ठाकुर र निभा सिंहलाई पनि सम्मान गरिएको थियो। नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासलाई समेत कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य क्षेत्रतर्फ अन्जुदेवी साह, निजगढ बाल क्लबका रविन विक, आईडीई नेपालका अफिसर विनोद श्रेष्ठ र राजकुमार साह लगायतले स्वागत मन्तव्य राखेका थिए।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले संरक्षण नेपालको स्थापना आफ्नै घरबाट भएको स्मरण गर्दै संस्थाले स्थापनाकालदेखि सामाजिक विकृति न्यूनीकरण, बालबालिकाको संरक्षण तथा उद्धारलगायतका क्षेत्रमा काम गर्दै आएको बताए। भारतमा लगिएका बालबालिकाको उद्धार गरी जिल्ला प्रहरी कार्यालयमार्फत अभिभावकको जिम्मा लगाउने कार्यसमेत संस्थाले गर्दै आएको उनको भनाइ थियो।
संस्थाका अध्यक्ष कुशवाहाले ५ हजार भन्दा बढी लक्षित वर्गलाई विभिन्न कार्यक्रममार्फत सेवा प्रदान गर्दै आएको र ५१ जनालाई रोजगारी दिइरहेको जानकारी दिए। उनले संस्थालाई निर्धारित सिद्धान्त र उद्देश्यअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार संस्थाले केयर नेपाल, आईडीई नेपाल, युनाइटेड मिसन टु नेपाल, युरोपियन युनियन र चाइल्ड नेपाल,महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,प्रदेश तथा स्थानीय सरकारलगायतका साझेदार संस्थासँग सहकार्य गर्दै आएको छ।
उक्त कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी राय, बारा उधोग बाणिज्य संघका अध्यक्ष राज कुमार साह,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाराका प्रहरी निरीक्षक राजाबाबु ठाकुर, विभिन्न संघसंस्थाका प्रतिनिधि, पदाधिकारी, कर्मचारी, सदस्य तथा सञ्चारकर्मीको उपस्थिति थियो। पूजा वर्माले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन्।
सो अवसरमा ‘बालबालिका उद्धार तथा पुनःस्थापना कोष नियमावली, २०८३’ सार्वजनिक गरिएको थियो।


