कोल्हबीमा प्रधानाध्यापक संघको नयाँ कार्यसमिति चयन

साझेदारी डेलि
31 पाठक संख्या

कोल्हबी । धीरेन्द्र पनुहर/ कोल्हबी नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयका प्रधानाध्यापकहरूको भेलाले प्रधानाध्यापक संघको नयाँ कार्यसमिति चयन गरेको छ। शुक्रबार श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मठवा विद्यालयमा आयोजित प्रधानाध्यापकहरूको बैठकबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

बैठकले रघुनाथ चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा पूनम चौधरी, कोषाध्यक्षमा प्रमेन्द्र फौजदार, सचिवमा बिक्की चौधरी र सहसचिवमा कञ्चनकुमारी चौधरी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा नरेन्द्रकुमार चौधरी, युवराज मैनाली, ममता पौडेल, सचिकला थपलिया, बिगुराम हरिजन र दिनेश मुखिया चयन भएका हुन् । संघको सल्लाहकारमा जगदीश पण्डित, रामप्रकाश चौधरी र बाबुराम गिरीलाई चयन गरिएको जनाइएको छ।

नवनिर्वाचित कार्यसमितिले नगरपालिका क्षेत्रका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, प्रधानाध्यापकहरूबीच आपसी समन्वय तथा विद्यालय सञ्चालनसँग सम्बन्धित साझा समस्याको समाधानका लागि सहकार्य गर्ने अपेक्षा गरिएको छ। बैठकमा विद्यालयको शैक्षिक तथा प्रशासनिक अवस्थाका विषयमा समेत छलफल भएको प्रधानाध्यापक नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

यसै अवसरमा कोल्हबी नगरपालिकाअन्तर्गतका विद्यालयमा प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हाल्दै आउनु भएका हरिप्रसाद पराजुली र गगनदेव चौधरीलाई बिदाइसमेत गरिएको थियो। कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले उहाँहरूले विद्यालय तथा शैक्षिक क्षेत्रमा पुर्‍याउनु भएको योगदानको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी ,प्रधानाध्यापक संघ बाराका अध्यक्ष रामबली महतो ,मदेश प्रदेशका उपाध्यक्ष सुवाश कुमार यादव, शिक्षा शाखा प्रमुख मिस्रीलाल साह तथा कोल्हबी नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिले आगामी दिनमा प्रधानाध्यापकहरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विद्यालयको शैक्षिक वातावरण सुधार र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a review