जीतपुर । बकुलियाबाट एकैपटक सम्पर्कविहीन भएका तीन बालबालिका भारतमा फेला परेपछि परिवारले राहतको सास फेरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट आइतबार बिहान हराएका तीनै बालबालिका राति भारतको मोतीहारीस्थित मामाघरमा सुरक्षित अवस्थामा रहेको खुलेको हो।
बकुलियामा डेरा गरी बस्ने मुकेश पासवानका करिब पाँच वर्षीय छोरा धिरज तथा सात वर्षीया सुन्दरी र आठ वर्षीया काजल बिहान घरबाट निस्किएपछि सम्पर्कमा आएका थिएनन्। लामो समयसम्म घर नफर्किएपछि परिवारले आफन्त, छरछिमेक र सम्भावित स्थानमा खोजी गरेको थियो।
खोजी गर्दा पनि बालबालिकाको अवस्था पत्ता नलागेपछि आमा अनिता देवीले बिहान १०ः५० बजे इलाका प्रहरी कार्यालय जीतपुरमा जानकारी गराएकी थिइन्। त्यसपछि प्रहरीले सम्भावित क्षेत्रहरूमा खोजीलाई अघि बढाएको थियो।
प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा जीतपुरबाट चार जनाको टोली परिचालन गरिएको थियो। घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा थप पाँच प्रहरी परिचालन गरिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट बालबालिका अघिल्लो रात अभिभावकको अनुमति लिएर घरबाट करिब ६ सय मिटर दक्षिणमा रहेको गंगा साह तेलीको घरमा अन्य बालबालिकासँग सुत्न गएको खुलेको प्रहरीले जनाएको छ। बिहान करिब ५ः३० बजे उनीहरूलाई घरदेखि करिब एक सय मिटर दक्षिणतर्फको बाटोसम्म पुर्याएर फर्काइएको थियो। तर बिहान ८ बजेसम्म पनि उनीहरू घर नआएपछि परिवारले खोजी थालेको थियो।
प्रहरीले खोजी जारी राखेकै क्रममा राति करिब ८ बजे तीनै बालबालिका भारतको मोतीहारी जिल्ला रमघडवा थाना क्षेत्रको मुरला गाउँस्थित मामाघरमा रहेको जानकारी प्राप्त गरेको थियो।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा बालबालिकाले मेला हेर्न जाने क्रममा गाडी चढेर भारत पुगेको बताएका छन्। भारत पुगेपछि उनीहरू आफ्ना मामा मुकेश पासवानको घरमा पुगेको खुलेको हो।
बालबालिका सकुशल फेला परेपछि सम्भावित अप्रिय घटनाको त्रासमा रहेका परिवारजन र स्थानीयले राहत महसुस गरेका छन्। घटनाको पृष्ठभूमि र बालबालिका भारतसम्म पुगेको विषयमा प्रहरीले थप बुझ्ने काम भइरहेको जनाएको छ।


