जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले तीन वडामा रहेका १ हजार ६ सय ४९ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाको कानुनी स्वामित्व दिलाउने प्रक्रिया अघि बढाएको छ। वर्षौंदेखि जग्गा उपभोग गर्दै आए पनि लालपुर्जा नपाएका परिवारको विवरणसहितको फाइल सम्बन्धित कार्यालयमा बुझाइएपछि स्वामित्व कायम गर्ने प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो।
उपमहानगरपालिकाका वडा नम्बर १, २ र २१ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरण र आवश्यक कागजात समेटिएको फाइल मंगलबार कलैयास्थित नापी तथा मालपोत कार्यालयमा बुझाइएको हो।
नगर उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा पुगेको टोलीले नापी तथा मालपोत कार्यालय कलैयाका प्रमुख सुबोध यादवलाई फाइल हस्तान्तरण गरेको थियो। टोलीमा वडा नम्बर २१ का वडाध्यक्ष सुबाश श्रेष्ठ, वडा नम्बर २ का वडा सदस्य विशाल प्रसाद घिमिरे र उद्धव प्रसाद गौतम तथा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख राम शर्मा पौडेल सहभागी थिए।
उपमहानगरपालिकाका अनुसार स्वीकृत विवरणमा वडा नम्बर १, २ र २१ का २४ परिवार भूमिहीन दलित, २४८ परिवार भूमिहीन सुकुम्बासी र १ हजार ३ सय ७८ परिवार अव्यवस्थित बसोबासी छन्। उनीहरूको विवरण कार्यपालिका बैठकबाट स्वीकृत भएपछि थप प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पठाइएको हो।
लामो समयदेखि एउटै क्षेत्रमा बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्व नहुँदा सम्बन्धित परिवारले घरजग्गाको सुरक्षा तथा सरकारी र कानुनी प्रक्रियामा विभिन्न कठिनाइ झेल्दै आएका छन्। स्वामित्व कायम भएपछि उनीहरूको बसोबास सुरक्षित हुनुका साथै जग्गासम्बन्धी कानुनी अधिकार सुनिश्चित हुने अपेक्षा गरिएको छ।
नगर उपप्रमुख अधिकारीले वडा कार्यालयमार्फत संकलन भएको विवरणलाई आवश्यक प्रक्रिया पूरा गरी कार्यपालिकाबाट स्वीकृत गराएर सम्बन्धित कार्यालयमा पठाइएको बताउनुभयो। बाँकी प्रक्रिया पूरा गर्न सम्बन्धित कार्यालयसँग समन्वय गरेर कामलाई छिटो टुंग्याउने प्रयास भइरहेको उहाँको भनाइ छ।
वडा नम्बर २१ का वडाध्यक्ष सुबाश श्रेष्ठले वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा रहेका परिवारका लागि फाइल हस्तान्तरण महत्वपूर्ण चरण भएको बताउनुभयो। वडाबाट आवश्यक विवरण र कागजात संकलन भइसकेकाले अब सम्बन्धित निकायबाट हुने प्रक्रियालाई सहजीकरण गर्दै स्वामित्व कायम गराउनेतर्फ पहल गरिने उहाँले बताउनुभयो।
यसअघि जीतपुरसिमरा उपमहानगरपालिका–१८ का भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण पनि संकलन गरी भूमि समस्या समाधान जिल्ला समिति, कलैयामा बुझाइएको थियो। तीन वडाका १ हजार ६ सय ४९ परिवारको फाइल प्रक्रिया अघि बढेसँगै लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका परिवारमा जग्गाको स्वामित्व प्राप्त हुने आशा बढेको छ। स्थानीयले भने बाँकी प्रक्रिया लामो समयसम्म अल्झिन नदिन सम्बन्धित कार्यालयबीच प्रभावकारी समन्वय गरी कामलाई तीव्रता दिन माग गरेका छन्।

