बारा । बाराको कलैया उपमहानगरपालिका-१४ बघवनस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका २३७ जना विद्यार्थीलाई पिएसआर खबरका सञ्चालक रमेश ठाकुरले शैक्षिक सामग्री वितरण गरेका छन्।
ठाकुरले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीलाई कापी, पेन र पेन्सिललगायतका शैक्षिक सामग्री वितरण गरेका हुन्।
उनका अनुसार सामाजिक सञ्जालमा सञ्चालित मिडियाको फेसबुक पेजबाट प्राप्त आम्दानी भएको करिब २० हजार रुपैयाँ बराबरको रकम विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री खरिदमा खर्च गरिएको हो।
शिक्षामा सुधार ल्याउन र समाजका लागि आफ्नो तर्फबाट केही योगदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको ठाकुरले बताए।
ठाकुरले आफ्नो वडामा रहेका तीनवटै विद्यालयका ५५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार मंगलबार भौरा र जीतपुरमा रहेका विद्यालयका विद्यार्थीलाई पनि सामग्री वितरण गरिनेछ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद कुशवाहा, राजन जैसवाल, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
पत्रकार ठाकुर विगत १४ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनी कान्तिपुर टेलिभिजनका बारा संवाददातासमेत हुन्।

