बारामा दिनहुँ बढ्दै अपराधका घटना, प्रहरी प्रशासनको सुरक्षा व्यवस्थामाथि उठ्यो प्रश्न

साझेदारी डेलि
69 पाठक संख्या
फोटोः एआईको सहयोगमा तयार गरिएको सांकेतिक तस्वीर

कलैया । बारामा पछिल्लो समय एकपछि अर्को गम्भीर आपराधिक घटना सार्वजनिक भइरहेका छन्। हत्या, बलात्कार, अपहरण, बालबालिका बेपत्ता हुनेदेखि रहस्यमय मृत्युका घटनासँगै सवारी दुर्घटनाको दरसमेत बढेपछि जिल्लाको समग्र सुरक्षा व्यवस्थामाथि माथी नै प्रश्न उब्जिएको छ।

विशेषगरी पछिल्लो एक महिनामा भएका विभिन्न घटनाले नागरिकस्तरमा सुरक्षा चिन्ता बढाएको छ। बालिका बलात्कारपछि हत्या, बालक अपहरणपछि भारतमा हत्या, चक्कु प्रहारबाट हत्या तथा जंगल र सडक आसपासमा शव भेटिने घटनाले जिल्लाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको देखिएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटना पछिल्लो समय जिल्लाका गम्भीर घटनामध्ये एक बनेको छ। साउन ३१ गते बेपत्ता भएकी बालिकाको भदौ २ गते शव भेटिएपछि घटनाको विरोधमा स्थानीयस्तरमा आन्दोलनसमेत भएको थियो। पीडित परिवार र स्थानीयसँग गृह मन्त्रालयले तीनबुँदे सहमति गरेपछि भदौ ७ गते बालिकाको अन्त्येष्टि गरिएको थियो।

घटनाको अनुसन्धानपछि जिल्ला अदालत बाराले मुख्य अभियुक्त भनिएका प्रोग्रेश उर्फ पुरग्रेश चौधरीसँग २० हजार रुपैयाँ धरौटी माग गरेको छ। अन्य नौ जनालाई साधारण तारेखमा छाडिएको छ भने घटनामा संलग्न भनिएका दुई नाबालकलाई वीरगञ्जस्थित बाल सुधार गृह पठाइएको छ।

यसैबीच, विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साहको अपहरणपछि भारतमा हत्या भएको घटनाले पनि जिल्लाको सुरक्षा अवस्थामाथि प्रश्न उठाएको छ। भदौ ९ गते बिहान घरबाट हराएका साहको शव दुई दिनपछि भारतको बिहारस्थित मोतिहारी जिल्लाको सिंहा नदी किनारमा फेला परेको थियो।

प्रहरीका अनुसार सीसीटीभी फुटेज, स्थानीयको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई अपहरण गरी भारत लगेर हत्या गरिएको खुलेको हो। घटनामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ परेका छन्। उनीविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

यस्तै, जीतपुरसिमरा क्षेत्रमा नाबालिकामाथि बलात्कारका छुट्टाछुट्टै घटना पनि सार्वजनिक भएका छन्। पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जीतपुरसिमरा–१९ इनर्वासिराबाट ७५ वर्षीय हसन जान मियाँ र जीतपुरसिमरा–१ पथलैयाबाट १४ वर्षीय नाबालक पक्राउ परेका छन्। दुवै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्लामा रहस्यमय मृत्युका घटनासमेत देखिएका छन्। जीतपुरसिमरा–१६ टाङ्गियाबस्तीका देवीप्रसाद फुयाल काटघाटस्थित सहजनाथ महादेव मन्दिरको दक्षिणतर्फको जंगल क्षेत्रमा मृत फेला परेका थिए। साइकलले शरीर थिचिएको अवस्थामा उनको शव भेटिएको थियो। घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

त्यसैगरी, जीतपुरसिमरा–२२ स्थित दुई नम्बर पुल नजिक ४७ वर्षीय वीरबहादुर स्याङ्तानको जलेको अवस्थामा शव फेला परेको थियो। बिहीबारदेखि सम्पर्कविहीन रहेका स्याङ्तानको शव स्थानीयले शुक्रबार फेला पारेका थिए। घटनाको कारण अझै खुल्न सकेको छैन।

जीतपुरसिमरा–२ स्थित सम्झना स्टाफ होटलमा भएको चक्कु प्रहारको घटनाले पनि जिल्लाको सुरक्षा चुनौती थप स्पष्ट पारेको छ। उक्त घटनामा ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको थियो।

प्रहरीका अनुसार जीतपुरसिमरा–१६ का २२ वर्षीय आयुष राईले शुक्रबार साँझ करिब ५ः३० बजे खड्कामाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते खड्कालाई उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएकोमा साँझ ६ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यी सवै घटनाहरु करिब एक महिनाको अन्तरालमा भएका हुन । जिल्ला प्रहरी कार्यालय बाराको भदौ महिनाको प्रगति विवरणले पनि जिल्लामा आपराधिक गतिविधिको मात्रा उल्लेख्य रहेको देखाएको छ। बारा प्रहरीका अनुसार एक महिनामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएको देखिन्छ।

तीमध्ये सामाजिक अपराधका ३२ वटा मुद्दा सबैभन्दा धेरै छन्। आत्महत्यासम्बन्धी २८, महिला तथा बालबालिकासम्बन्धी १९, सवारी ज्यानसम्बन्धी १३, चोरीसम्बन्धी पाँच र ज्यानसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका छन्। अन्य प्रकृतिका ५३ वटा मुद्दा रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

बाराको सुरक्षा चुनौती आपराधिक घटनामा मात्रै सीमित छैन। सडक दुर्घटनाको तथ्यांकले पनि अवस्था गम्भीर रहेको देखाएको छ। बारा प्रहरीकै रेकर्ड अनुसार भदौ महिनामा मात्रै जिल्लामा ८४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन भने १२२ जना घाइते भएका छन्।

यसैविषयमा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार गुप्तासंग प्रतिकृया लिदा उने जिल्लामा अपराधिक घटना र सवारी दुर्घटना बढ्दै गएको भन्दै दुर्घटना न्यूनीकरणका लागि प्रशासनले प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले दैनिक रुपमा भईरहेको आपराधिक घटना र दुर्घटनाको तथ्यांकले बारामा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी प्रहरी, प्रशासन र सरोकारवालाहरु भुमिका बढाउनुपर्ने बताएका छन ।

Leave a review