नेपाल प्रेस युनियन काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याललाई पितृशोक परेको छ ।उहाँका ७२ वर्षीय पिता दुर्गादत्त अर्यालको शनिबार राति काठमाडौँमा निधन भयो । उहाँ लामोसयमदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
विसं २००६ वैशाख १२ गते स्याङ्जाको साविक बानेथोक देउराली गाउँ विकास समितिमा जन्मनुभएका स्व अर्याल पछिल्लो समय भरतपुर महानगरपालिका–१२ चितवनमा परिवारसँग बस्दै आउनुभएको थियो ।
विसं २०१५ को आमनिर्वाचनमा पिता शोभाकान्त अर्यालको प्रेरणाबाट कांग्रेसलाई विजय गराउन महत्वपूर्ण भूमिका खेल्नुभएका स्व अर्याल विसं २०४६ को आन्दोलन र २०६२÷६३ को आन्दोलमा सक्रिय भएर लाग्नुभएको थियो ।
उहाँ चितवनको प्रजातान्त्रिक सेनानी हुनुहुन्थ्यो । स्व अर्यालका श्रीमती, छ छोरा र तीन छोरी हुनुहुन्छ । यसैवीच स्व अर्यालको निधनप्रति नेपाल प्रेस युनियन काठमाडौँ शाखाले दुःख व्यक्त गरेको छ ।
शाखाका अध्यक्ष जगन्नाथ दुलालले आज शोक विज्ञप्ति जारी गर्दै मृतात्माको चिरशान्तिको कामना गर्दै दुःखद् घडीमा सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।