कमाउँदै,रमाउँदै छ राधाप्रमोदको जोडी

साझेदारी दैनिक
1.7k पाठक संख्या

“श्रीमान्ले घरको काममा सहयोग गर्न थाल्नु भो, मैले पनि कमाउन थालें, अब त आनन्द छ ।” भन्दै हँसिलो भावका साथ राधाले पारचुनको छैंटि भुईंमा राखिन् । एकाबिहानै पारचुन बेच्न निस्केकी बाराको महागढीमाई नगरपालिका वडा नं. १ कचहरिया टोल निवासी ३० वर्षिया राधा देवी महराले एक हजार तिन सयको व्यापार गरेर आएकी रहिछन् ।

दिनभरी बिंडी बनाएर कमाएको एक सय रुपैंयाले परिवारको दैनिक खर्च धान्न मुश्किल पर्ने अवस्था उल्ट्याउँदै उनले दिनमा ३ देखि ५ सय सम्म नाफा कमाउने गरेको बताइन् ।

एक छोरा सहित ५ सन्तानकी आमा राधा १६ वर्षकै उमेरमा विवाह बन्धनमा बाँधिएकी हुन् । दलित समुदायको भएर पनि उच्च शिक्षा पढेको देखेर छोरीको जिवन सुखमय बन्छ भन्ने सोचले राधाका अविभावकले उनको विवाह प्रमोद रामसँग गरिदिएका थिए । तर सोचेजस्तो भएन राधाको वैवाहिक जिवन । ५ महिना पहिले सम्मको जिवन सम्झींदा उनका आँखा भरिन्छन् ।

उनका श्रीमान् प्रमोदलाई पढेलेखेको मान्छे म, मैले घरको खेतको काम गर्नु हुन्न भन्ने थियो । सँधै चट्ट मिलाएर कपडा लाउने र ठुला काम मात्रै गर्नुपर्छ भन्ने थियो । यहि सोच पुरा गर्न उनले आफ्नो र श्रीमतीको नाममा २ वटा स्थानिय गैरसरकारी संस्था खोले । स्थानिय निकायबाट १ वा २ वटा वर्षमा कार्यक्रम लिन्थे । त्यसबाट भएको आम्दानीले उनको मात्रै खर्च जेनतेन चल्थ्यो । घरमा खर्च पनि दिन नसक्ने, ४÷५ दिनमा एक पटक घर आउने, भेटेको खाने र लाने, कुनै न कुनै बाहानामा छोराछोरी श्रीमतीलाई कुट्ने गरेको छरछिमेकको ओरोप थियो ।

छिमेकीका अनुसार सँधैको यस्तो खराब कृयाकलापका कारण छोराछोरी आँत्तिएका थिए भने श्रीमती आजित भएकी थिइन् ।

“पालिकाको सहयोगमा बाल अधिकार, महिला अधिकार र लैंगिक हिंसा विरुद्ध सचेतनामुलक कार्यक्रम चलाउँदै हिंड्ने प्रमोदले आफ्नै सन्तान र जिवनसाथी माथी हिंसा गरेको देख्दा सारै नमज्जा लाग्थ्यो तर पढेलेखेको मै जान्ने बनेर हिंड्ने उसलाई कसैले सम्झाउन सकेका थिएनन् ।” भनिन् दलित वडा सदस्य सानमती देवि रामले ।

बैशाखमा श्री गढीमाई महिला कृषक समुहको बैठकमा सहभागि हुँदै गर्दा राधाको विषयमा छलफल भयो । त्यसपछि कुनै सहयोग गर्नु पहिले सम्बन्धमा भएको समस्या समाधान गर्नुपर्ने ठम्याइका साथ समुदायको उत्थानशिलता सुदृढिकरण एससिआर परियोजना कर्मीहरुले पारीवारिक छलफल गराए ।

उनीहरुले दुवैलाई खुलेर आफ्नो समस्या राख्न भने । “यसले मलाई कुनै किसिमको साथ सहयोग दिन र मेरो लायक बनेर सुख दिन सकिन । अनपढ गवाँर केटीसँग विवाह भएर मेरो जिवन बरवाद भयो ।” प्रमोदले भने । राधाले “कमाएर दिनुहुन्न, घरमा केहि सघाउनुहुन्न, अरुको पुरानो कपडा लगाउँछु, बच्चा सम्हाल्दै बिंडि बनाएर घर चलाउँछु, वहाँले खेतको काम गर्न नजानेको जस्तै मैले शहरीया काम गर्न सकिन तर यो वहाँले कहिल्यै बुझ्नुभएन ।” भनिन् ।
एक दिनभरीको छलफलमा एकअर्काको क्षमताको कदर गर्ने, एकअर्काको समस्या बुझेर साथ दिने र जिम्मेवारी प्रति सजग भए दुवैजनाका साथ बालबच्चाले सुखद जिवन पाउने विश्वास दिलाउन धेरै उदाहरण पेश भए ।

परियोजनाका लैंगिक संरक्षण अधिकृत लक्ष्मी खरेलले कम से कम एक महिना विगतलाई विर्सिएर एकले अर्कोको राम्रा गुणहरु खोज्ने, नकारात्मक गुणहरुलाई सुधार्ने, एक अर्कालाई सहयोग गर्ने, क्षमता अनुसारको अवसर दिने र यो मेरो परिवार हो र यसलाई राम्रो बनाउने जिम्मा पनि मेरै हो भन्ने सोचेर अघि बढे अर्थोपार्जनका लागि परियोजनाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनीहरुले पनि भने जस्तै गरे । उत्तर दक्षिण फर्कीएर बस्ने र मुर्मुरिंदै बोल्नेका विच सद्भाव र प्रेममय अवस्था देखेपछि परियोजनाले व्यवसाय सुरुवात तथा सुधार सम्बन्धि ५ दिने तालिममा सहभागि गराएको कार्यक्रम संयोजक अजय कुमारले बताए । तालिम पछि प्रमोदले जसोतसो पैसा जुटाएर फोटोकपि सेन्टर खोले । त्यसको आम्दानीबाट जोगाएको २० हजार रुपैयाँ लागानी गरेर उनले श्रीमतीलाई पारचुन पसल खोलिदिए ।

“पढाइको घमण्ड छोडेर श्रीमतीलाई सहयोग गर्दा मेरै जिवन खुशिमय भयो ।” डेढ वर्षिय छोरा अमरजितलाई काँधमा बोक्दै प्रमोदले खुशी व्यक्त गरे । ३२ वार्षिय उनले भने “यिनमा धेरै हिम्म्त छ, मैले बजारमा राखेर बेच भनेको थिएँ, घुमाएर बेच्दा धेरै फाइदा हुन्छ भनेर घुमाइघुमाइ बेचिन् सँच्चै फाइदा भएको छ ।” उनले थपे “खुशीको बाटो पैसा मात्र होइन रहेछ, म्याडमले मेरो सोच परिवर्तन गराइदिनुभयो, अहिले केहि समस्याले मेरो व्यवसाय चलेको छैन र पनि हामी खुशी छौं, सुखी छौं ।”

श्रीमतीका लागि उनले चिटिक्क परेको सारी किनिदिएछन् । छिमेकी समेत रहेकी वडा सदस्य सानमती रामले भनिन् “अहिले त राधाप्रमोदको जोडि डाहलाग्दो बनेकाछन् । गाउँमा उनीहरुलाई हेर्ने दृष्टिकोण नै परिपवर्तन भएको छ ।”
पोषाक नभएकै कारण विद्यालयबाट रुँदै आएको देखेपछि परियोजनाले ३ जाना छोरीहरुको लागि विद्यालय पोषाक, कापी, कलम, सिसाकलम, कटर, इरेजर, ब्याग लगायत उपलब्ध गराएको छ ।

छोरीहरुले पनि पढाइमा असाध्यै रुची राख्छन् । वडा सदस्य सानमतिका अनुसार तिनै जना छोरीहरु विद्यालय लाग्नु अगावै विद्यालय पुग्छन् र विद्यालयबाट आएर हरेक दिन पोषक धुन्छन् अनि गृहकार्य गर्छन् ।

“कक्षा भरिमा बाहिरी पोषाकमा बस्नुपर्ने बाध्यता हट्यो अहिले त हामि पनि अरु जस्तै ड्रेसमा हुन्छौं ।” जेठी छोरी पुजा रामले भनिन् । उनले थपिन् “पहिला पहिला त पकाउने बेला सम्म पनि के पकाउने टुँगो हुन्थेन तर अहिले चामल तरकारी सँधै हुन्छ र बुवाआमाको झगडा पनि छैन ।”

उनीहरु बिच बलियो समझदारी होस् भन्ने उद्देश्य तथा उनीहरुले नै यहि व्यवसाय गर्छु भन्ने निक्र्यौल गर्न नसकेका कारण साना व्यवसायका लागि सहयोग अहिले सम्म नदिएको कार्यक्रम संयोजक अजय कुमारले बताए ।

पारचुन व्यवसाय गर्न सुरु गरिसकेकी राधालाई अब केहि दिनमै ५० हजार बराबरको पारचुनको सामान उपलब्ध गराउने समेत उनले बताए ।

इस्लामिक रिलिफ वल्र्डवाइडको सहयोग तथा जनजागरण युवा क्लब जेजेवाइसीको आयोजनामा संचालित एससिआर परियोजनाले महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको ७ वटा वडाहरुमा जलवायुमैत्री खेतिपाति, संरक्षण, खानेपानी तथा सरसफाई र विपद सम्बन्धि कार्यक्रमहरु संचालन गरिरहेको छ ।

Leave a review

This will close in 0 seconds