नेशनल मेडिकल कलेजमा प्रहरीको छापा,एमडि सहित दुई जना पक्राउ

राम मण्डल
387 पाठक संख्या

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा सोमबार पर्सा प्रहरीले छापा मारेको छ ।

म्याद गुज्रिएको केमिकल प्रयोग हुदै आएको खुलासा भएपछि प्रहरीले उक्त कलेजमा छापामारी गरेको हो ।

पर्साका एसपी कुमोद ढुँगेल सहितको अनुगमन टोलीले कलेजको ल्याबबाट म्याद गुज्रिएको केमिकल बरामद गरेको छ ।

म्याद गुज्रिएको केमिकल ल्याबबाट बरामद भएपछि कलेजका एमडि र ल्याबका डाक्टरसहित दूई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले कलेजका एमडि सहनवाज हुसेन र ल्याबका डाक्टर सँजय साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी केशर कुमार न्यौपानेले साझेदारी दैनिकलाई जानकारी दिए । 

अति संबेदनशिल मानवीय स्वास्थ्यलाई असर पार्ने गरि कलेजको ल्याबमा म्याद गुज्रिएको केमिकल प्रयोग हुदै आएको देखिएको हो ।कलेजको ल्याबमा म्याद गुज्रिएको केमिकल प्रयोग भईरहेको सूचनाको आधारमा पर्सा प्रहरीले कलेजमा छापमारी गरेको छ ।

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याद गुज्रिएका ४० भन्दा बढी प्रकारका केमिकल र औषधि बरामद भएको छ । सन् २०२१ फेब्रुअरीमै डेट एक्स्पायर भएका केमिकलहरू भेटिए।

यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधिहरू डेट एक्स्पायर भएको फेला परेको थियो । कलेजका एमडि र ल्याबका प्रमुख डाक्टर नै प्रहरी नियन्त्रणमा परेपछि अहिले मेडिकल कलेज प्रशासन तनावमा रहेको छ ।

वीरगञ्ज महानगरको अनुगमन टोलीमा वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रम्हदेव यादव,घरेलु तथा साना उद्योग कार्यालय पर्साका सञ्जय महतो,वाणिज्य कार्यालय वीरगञ्जका दिलिप खंग खत्वे लगायतको सहभागिता रहेको थियो ।

Leave a review