सिमरा बजारमा अनाधिकृत बनाईएका संरचना खाली गराउदै उपमहानगर

रञ्जन यादव
361 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाले बाराको सिमरा बजारमा बनाईएका अनाधिकृत संरचनामाथि डोजर चलाएर खालि गराएको छ ।

उपमहानगरपालिकाले वडा नं.२ स्थित साविकको पिप्रा सिमरा गाविसको नाममा श्रेस्ता कायम रहेको कित्ता नं. ८१६,८३१ र ८३२ मा बनेको अस्थायी घरटहरा हटाउन लागेको हो ।

उक्त जग्गामा स्थानीयले घरटहरा निर्माण गरेर खाजा, नास्ताको होटल संचालन गर्दै आएका थिए ।

सरकारी जग्गामा बनेको उक्त अनधिकृत संरचना हटाउन उपमहानगरपालिकाले पटकपटक सूचना जारी गर्दै आएको थियो । तर स्थानीय व्यवसायीले उक्त निर्णयविरुद्ध उच्च अदालत वीरगन्जमा रिट दाय गरेका थिए ।

स्थानीय व्यवसायीले दायर गरेको उक्त रिट अदालतले खारेज गरिदिएपछि उपमहानगरपालिकालाई उक्त घरटहरा हटाउन कानुनी बाटो खुलेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले सिमराको मुख्य बजारमा रहेको घरटहरा हटाएर व्यवस्थित सपिङ कम्प्लेक्स बनाउने योजनामा रहेको छ ।

नगर विकास कोषको लगानीमा उपमहानगरपालिकाले वडा कार्यालयसहितको कम्प्लेक्स बनाउने जनाएको छ । यसभन्दा अगाडि जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं.७ जीतपुर र वडा नं.१२ फत्तेपुरमा डोजर लगाएर अबैध संरचना भत्काएको थियो ।

सिमरा बजारका केही ब्यवसायीहरु आफै आफनो भौतिक संरचना हटाएका थिए भने पक्की संरचनाहरु उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको थियो ।

Leave a review

This will close in 0 seconds