पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा मधेस प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा मधेस प्रदेशले चार विकेटले नेपाल पुलिस क्लबलाई हराएको हो । नेपाल पुलिस क्लबले ४० दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १३० रन जोडेको थियो ।
नेपाल पुलिस क्लबका कुशल भुर्तेलले ४२ बलमा ३९ रन जोडेका थिए । त्यस्तै नेपाल पुलिस क्लबका शङ्कर रानाले ६१ बल खेल्दै २७ रन जोडेका थिए । मधेस प्रदेशका आशिक बैंठा र पवन सर्राफले समान तीन–तीन विकेट लिएका थिए ।
मधेस प्रदेशले २४ दशमलव १ ओभरमा छ विकेट गुमाउँदै एक सय ३१ रन जोडेको थियो । मधेस प्रदेशका अरनिको यादवले ४४ बल खेल्दै ६५ रन जोडेका थिए भने रूपेश सिंहले पनि २९ बलमा २७ रन जोडेका थिए । नेपाल पुलिस क्लबका गुल्सन झाले तीन विकेट र सागर ढकालले दुई विकेट लिएका थिए ।
आजको खेलमा मधेस प्रदेशका अरनिको यादव प्लेयर अफ दि म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल यही वैशाख ४ गते हुँदैछ ।


