करण कुमार मिश्र/
रौतहटको देवाही गोनाही नगरपालिकाले निर्धारित समय भन्दा करीब एक महिना ढिलो गरी आफ्नो नबौ नगरसभा सम्पन्न गरेको छ।
सरकारको नियम अनुसार प्रत्येक स्थानीय तहले असाढ मसान्त भित्रमा नगरसभा गरी अगामी आर्थिक वर्षको बजेट,निती तथा कार्यक्रम ल्याई सक्नुपर्ने प्रवधान छ । तर जनप्रतिनिधि बीचको भागबन्डा नमिल्दा असाढ़मा हुनु पर्ने नगरसभा एक महिना ढिलो गरी शनिबार नगरसभा सम्पन्न भएको हो ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र कुमार यादव (सुनिल)को प्रमुख आतिथ्यता “जिल्ला समन्वय समिति रौतहटको अध्यक्ष रामअयोध्या यादवको बिशिस्ट अतिथ्य तथा देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह कानुको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ५६ करोड २४ लाख २५ हजार आठसय सतासी रुपैया उन्नसाठी पैसाको आय व्यय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले प्रस्तुत गरेका छन् ।
प्रशासकीय अधिकृत यादवले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण,शशर्त अनुदान,समपुरक अनुदान,राजस्व बाँडफाँड,आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभयो ।
यस वर्ष शिक्षा,स्वास्थ्य,खेलकुद,कृषि,यातायात,खानेपानी तथा सरसफाइ,विधुत,भौतिक पुर्वाधार निर्माणकार्य,पर्यटन तथा संस्कृति,१५ शैयाको अस्पताल निर्माण लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल,लेखा प्रमुख प्रदीप यादव,योजना प्रमुख मुकेश पटेल,विभिन्न वडाका जनप्रतिनिधि,विभिन्न राजनैतिककर्मी,पत्रकार शिक्षक लगायत आम जनसमुदायको समेत उपस्थिति रहेको थियो ।

