जनताको ज्यान रक्षाका लागि एक जुट
मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका प्राप्त सुझाव यथाशीघ्र कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धनुषा र महोत्तरीका सरोकार पक्षसँग महामारी नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सुझाव लिन बर्दिबासमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भइरहेको प्रयास र आगामी दिनमा अपनाउनुपर्ने नीतिको सम्बन्धमा आठै जिल्लाका सरोकार पक्षले दिएको सुझावमध्ये कतिपय कार्यान्वयन चरणमा रहेको र बाँकी यथाशीघ्र पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बर्दिबासमा सञ्चालित पिसिआर प्रयोगशालामा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने वचन उहाँले दिनुभयो ।
उक्त छलफलमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोनाबाट जोगिनका लागि निर्धारण गरिएका मापदण्ड पालना गराउनका लागि समाजमा जनचेतना जागृत गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नुपर्ने कदमबारे आआफ्ना प्रस्तुति दिनुभएको थियो । यसअघि प्रदेश सरकारले सरोकार पक्षसँग सुझाव लिन पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी र सिरहामा छलफल गरेको थियो ।
रुपन्देही– जिल्लामा थप ११ सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा सङ्क्रमित प्रहरीको संख्या १५ पुगेको छ ।
चौबीस जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि पठाइएकामा १८ जनाको रिपोर्ट आउँदा ११ जनामा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । सङ्क्रमित प्रहरी सबै पुरुष रहेको र उनीहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्ष्टिच्युटको आइसोलेशनमा बसेको बताइएको छ ।
यसअघि चार प्रहरी र १५ थुनुवामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । इलाका प्रहरी मातहतमा झण्डै डेढ सय प्रहरी कार्यरत छन् । तीमध्ये १५ महिला छन् ।लकडाउन कार्यान्वयनका लागि फिल्डमा खटिएका केही प्रहरीलाई ज्वरो आउने समस्या देखिएकाले पिसिआर परीक्षण गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।
प्रहरीको सुरक्षाका लागि आर्युवेदिक औषधि, मास्क र सेनिटाइजर प्रदान गरी दूरी कायम गरेर काम गर्न आग्रह गरिएको छ । जिल्लामा करीब एक हजार दुई सय सुरक्षाकर्मी कार्यरत छन् ।
दाङ जिप्रका बन्द
कर्मचारीमा कोरोना सङक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।प्रशासनले आज विज्ञप्ति प्रकाशन गरी एक कर्मचारीमा सङ्क्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी विज्ञप्तिमा शान्तिसुरक्षा र मुद्दालगायत अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइएको छ । राप्ती प्रादेशिक अस्पतालको बहिरंग सेवा बुधबारदेखितुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले बुधबारदेखि बहिरङ्ग सेवा शुरु गर्ने भएको छ । अस्पताल विकास समितिको आज बसेको बैठकले सबै स्वाब परीक्षण गरिएकाले कोरोनाको जोखिम नभएको जनाई सेवा शुरु गर्ने निर्णय गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा पदमराज अधिकारीले बताउनुभयो । अस्पतालले सोमबारदेखि आकस्मिक र प्रसूति सेवा शुरु गरेको थियो ।
उहाँका अनुसार शनिबार दुई चिकित्सकसहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल बन्द गरिएको थियो । अस्पतालका बाँकी कर्मचारी तथा बिरामीको स्वाब परीक्षण गर्दा आज एकएक स्टाफ नर्स र कार्यालय सहयोगीको कोरोना पोजेटिभ आएको थियो । उनीहरु सबैलाई आइसोलेशनमा राखिएको छ ।
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोभिड—१९को सङ्क्रमणका कारण हुने मृत्यु दर स्थिर देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण भने बढ्दै गएको छ । हाल मृत्यु दर स्थिर देखिए पनि जोखिम यथावत् रहेको स्वास्थ्यकर्मीले बताएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड—१९उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिशियन कन्सल्टेन्ट डा शेरबहादुर कमरले सङ्क्रमित हुनेमध्ये बढी सङ्ख्यामा रोगसँग लड्न सक्ने क्षमता भएका युवा तथा वयस्क उमेरका भएको र दीर्घरोग लागेका व्यक्ति सङ्क्रमित नहुनाले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा पछिल्ला दिनमा जटिलता नदेखिएको बताउनुभयो ।‘‘बिरामीको अवस्था जटिल बन्न सक्ने जोखिम भने यथावत् रहेकाले निरन्तर निगरानीमा राखिरहेका छौंँ”, उहाँले भन्नुभयो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताललगायत अस्पतालमा पछिल्ला केही दिनयता सघन उपचार कक्ष अथवा भेन्टिलेटरमा राख्नुपर्ने खालका जटिलावस्थाका बिरामी नरहेको डा कमरले बताउनुभयो ।
प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने भदौ १०गतेयता कोरोना भाइरसबाट कसैको मृत्यु भएको छैन । गत हप्तामा कोरोना सङ्क्रमित भने ४१५जना थपिएका छन् ।
भदौ १० गते कैलाली जिल्लाका कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको थियो । अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुईदुई र अछामका एक गरी ११ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा थप सयभन्दा बढीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी, डडेलधुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।
आज सङ्क्रमित फेला पर्नेमा कैलाली,कञ्चनपुर, अछाम, बैतडी, बझाङ, डडेलधुरा र डोटी जिल्लाका छन् । यससँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या कूल पाँच हजार८८०पुगेको छ ।
यीमध्ये सक्रिय सङ्क्रमित भने ८८४पुगेका छन् । केही हप्तायता पिसिआर पद्धतिबाट शङ्कास्पदको स्वाबको नमूना सङ्कलन र परीक्षणको दायरा वृद्धि भएको छ । दैनिक हाल बढीमा एक हजार७३०वटासम्म नमूना जाँच भइरहेको छ ।
रासस

