कोल्हवीमा अचेत अवस्थामा फेला परेका अज्ञात पुरुषको मृत्यु

साझेदारी डेलि
70 पाठक संख्या

बारा । बाराको कोल्हवी नगरपालिका–२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार आइतबार दिउँसो करिब ३:२५ बजे खेतको डिलमा अचेत अवस्थामा पुरुष व्यक्ति रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी टोलीले अन्दाजी ६० देखि ६२ वर्ष उमेरका ती पुरुषलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याएको थियो। उपचारकै क्रममा साँझ ५:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको तथा शव प्रादेशिक अस्पताल कलैयामा सुरक्षित राखिएको प्रवक्ता घलेले जानकारी दिए ।

मृतकको वर्ण कालो, उचाइ करिब ५ फिट ६ इन्च र कपाल सेतो रहेको छ। उनले घाँटीमा सेतो र हरियो धर्सा भएको गम्छा ओढेका, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए। उनको दाहिने हातको नाडीमा रातो धागो बाँधिएको र सोही हातको साइँली औँलामा औँठी रहेको प्रहरीले जनाएको छ।

मृतकलाई चिन्नुहुने व्यक्ति, आफन्त वा परिवारका सदस्यलाई जिल्ला प्रहरी कार्यालय बारामा १००, ९८५५०४५१०१ र ९८५५०४८१०१ सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a review