उद्यमशील सहकारीको अध्यक्षमा धनबहादुर तामाङ

साझेदारी डेलि
18 पाठक संख्या

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा रहेको उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ सञ्चालक समिति पाएको छ। संस्थाको नेतृत्वमा धनबहादुर तामाङ चयन भएका छन्।

सुन्दरबस्तीमा शनिबार सम्पन्न सहकारीको १४औँ साधारण सभा तथा अधिवेशनले तामाङको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो। नयाँ समितिको उपाध्यक्षमा लालबहादुर गुरुङ, सचिवमा सूर्यनाथ अधिकारी र कोषाध्यक्षमा सुस्मिता चौधरी छन्। सञ्चालक सदस्यमा सोनी गुरुङ, मिना तामाङ, केशव न्यौपाने, देवकुमार चौधरी र बिरा महतो चयन भएका छन्।

त्यस्तै, साधारण सभाले बिमला तामाङको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ। समितिको सदस्यमा अर्जुन घले र मिना घले रहेका छन्। प्रमुख निर्वाचन अधिकृत राजुप्रसाद अधिकारीका अनुसार दुवै समिति सर्वसम्मत चयन भएका हुन्।

साधारण सभामा जीतपुरसिमरा–१५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले सहकारीले स्थानीय स्तरमा वित्तीय पहुँच विस्तारसँगै समुदायको आर्थिक गतिविधिमा पु¥याएको भूमिकाको चर्चा गरे। कार्यक्रममा जीतपुरसिमरा–१३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबु खाँ, विन्दवासिनी सहकारीका अध्यक्ष रुपलाल चौधरीलगायत स्थानीय संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

भूतपूर्व सैनिक समुदायको पहलमा स्थापना भएको यस सहकारीले सदस्यमा बचत गर्ने बानीको विकास र आवश्यकताअनुसार ऋण प्रवाहसँगै सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थानीय समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको सहकारीले जनाएको छ।

व्यवस्थापक कृष्णप्रसाद नेपालको सहजीकरणमा तथा अध्यक्ष ओमनाथ पौडेलको अध्यक्षतामा भएको सभाले संस्थाको आर्थिक र संस्थागत प्रतिवेदन पारित गरेको थियो। कार्यक्रममा सहकारीसँगको कारोबारमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने शेयर सदस्यलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

Leave a review