जीतपुरसिमराका ७ जना जनप्रतिनिधिलाई प्रशासनले सोध्यो स्पष्टिकरण

रञ्जन यादव
412 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभामा तोडफोड गरेको आरोपमा ७ जना जनप्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय बाराले स्पष्टिकरण सोधेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले जनप्रतिनिधिलाई पहिलो चरणमा स्पष्टिकरण सोधेको छ । असार १० गते प्राईम पार्टी प्यालेस ( पुरानो शिवपार्वती हल) जीतपुरमा भएको नगर सभाको तेस्रो बैठक सञ्चालनको क्रममा केही जन प्रतिनिधिले टेबल,कुसी,माईक लगायतको सामग्री तोडफोड गरी क्षती पु¥याएको भन्दै प्रशासनले स्पष्टिकारण सोधेको हो ।

तोडफोडबारे उपमहानगरले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको थियो । पत्र र भिडियो क्लिप्स (फुटेज) को अध्ययनपछि कार्यविधि अनुसार सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई नेतृत्वको समितिले अनुसन्धान र कारबाही अघि बढाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले ७ जना वडा अध्यक्ष र दुई जना वडा सदस्यलाई पत्र काटेको छ । पत्र काटिनेमा वडा नं. २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ,वडा नं. ६ का वडा अध्यक्ष कैमुदिन अंसारी,वडा नं. ७ की वडा सदस्य सीता उप्रेती,वडा नं. ८ का वडा अध्यक्ष शिवशंकर प्रसाद कोइरी,वडा नं. ८ का वडा सदस्य गंगा राउत कुर्मी,वडा नं. १४ की वडा अध्यक्ष चयन गुरूङ्ग,वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेल,वडा नं. १७ का वडा अध्यक्ष भिम बहादुर गंङतान,वडा नं. २१ का वडा अध्यक्ष सुबास श्रेष्ठ रहेको बिश्वसनीय स्रोतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक प्रदर्शन, हड्ताल तथा विरोध कार्यक्रमबाट हुने क्षति मूल्याङ्गन सम्बन्धी कार्यविधि,२०८१ को परिच्छेद ६ को दफा ११ बमोजिम क्षतिपूर्ती भराउने विषयमा स्पष्टिकरण पत्र काटेको छ ।

क्षतिको विगो असुल गराउनु पर्ने हो/होइन ? सो बमोजिम विगो असुल गराउन नपर्ने भएमो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र सो को जवाफ पेश गर्न हुन निर्देशन दिएको छ ।

स्पष्टिकरण पेश गर्न लेखिएको पत्रमा तोकिएको म्यादभित्र जवाफ प्राप्त नभए वा प्राप्त पत्र जवाफ तथ्यपरक र सन्तोषजनक नदेखिएमा विगो असुल गर्नेतर्फ कारबाही भईजाने व्यहोरा सूचित गरिएको उल्लेख छ ।

प्रशासन कार्यालयले मिति २०८१।०४।३० गतेको मितिमा स्पष्टिकरण सोधेको स्रोतले बताएको छ । तर यसवारे केही जनप्रतिनिधहरुसंंग प्रतिक्रिया लिदा अनविज्ञता प्रकट गरेका छन ।

Leave a review