जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सेवा लिने सेवाग्राहीको सङ्ख्यामा बृद्धि भएको छ ।
उपमहानगरपालिका अन्तर्गत रहेका २५ वटा स्वास्थ्य संस्थाहरुबाट नगरबासीले प्राप्त गरेका सेवालाई बिश्लेष्ण गर्दा यस्तो तथ्याङ्क बाहिर आएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले उपलब्ध गराएको गत तीन बर्षको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०।०८१ मा पुराना सेवाग्राहीहरुको सङ्ख्या १ लाख ८२ हजार ४ सय ४४ पुगेको छ भने नयाँ सेवाग्राहीहरुको सङ्ख्या १ लाख ४३ हजार ८२ रहेको छ ।
यसैगरी आ.ब.२०७९।०८० मा पुराना सेवाग्राही १ लाख ३३ हजार ५ सय ६२ र नयाँ सेवाग्राही १ लाख २ हजार ४ सय ४४ जना थिए । आर्थिक बर्ष २०७८।०७९ मा भने यो संख्या क्रमशः७७ हजार २ सय ४९ र ५५ हजार ४ सय ५२ थियो ।
उपलब्ध तथ्याङ्कले उपमहानगरपालिकाको स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच र बिश्वास बढ्दै गएको संकेत देखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख रबि भाष्करले जानकारी दिएका छन।
तथ्याङ्कले स्वास्थ्य सेवामा पहुँच पाउँने ब्यक्तिहरुको संख्या हरेक बर्ष बढिरहेको देखाएको छ । जसले उपमहानगरपालिकाका नागरिकहरुलाई प्रदान गरिएका स्वास्थ्य सेवाहरुको गुणस्तर र पहुँचमा सुधार भएको सुचक देखिन्छ ।
उपमहानगरपालिकाले जनताको स्वास्थ्यमा गरेको योगदान र लगानीको प्रतिबिम्ब देखिएको नगर प्रमुख राजन पौडेलले जानकारी दिए । अगामी दिनमा पनि यस्ता सेवाहरुलाई अझ प्रभावकारी बनाउँन आवश्यक सुधार र नयाँ योजनाहरु ल्याउँने नगर प्रमुख पौडेलले प्रतिबद्धता जनाएका छन ।
जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा सेवा लिनेका संख्यालाई उमेर अनुसार बिभाजित गरिएको छ ।जसमा ० देखि ९ बर्ष,१० देखि १४ बर्ष,१५ देखि १९ बर्ष,२० देखि ४९ बर्ष,५० देखि ६९ बर्ष र ७० बर्ष भन्दघा माथिका उमेर समावेश गरिएको छ ।
सबै उमेर समुहमा नयाँ र पुराना सेवाग्राहीहरु उल्लेखनीय छन् । आर्थिक बर्ष २०८०/०८१ मा बिशेष गरी २० देखि ४९ बर्ष उमेर समुहमा सबैभन्दा बढी सहभागिता देखिएको छ । ६१ हजार ६ सय ७७ महिला र ४० हजार ४ सय ८९ पुरुषले सेवा लिएको तथ्याङ्कले देखाएको छ ।

