स्थानीय तहको उप निर्वाचनमा उम्मेदवारको मनोयनपत्र भयो दर्ता

साझेदारी दैनिक
387 पाठक संख्या

काठमाडौं : मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन कार्यक्रम अनुसार विहान १० बजेदेखि अपरान्ह५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगकी सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन्।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएकोछ।

यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५महिला, ४८पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला,२९३ पुरूष र १ अन्यगरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला,धनुषाधाम नगरपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम (पूर्वी भाग) जिल्ला,पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्ष पद र बझाङजिल्ला, सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३/३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि सोमबार विहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ।

मंसिर ४ गते मंगलबार अपरान्ह ५ः०० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ः०० बजेसम्मउ म्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

म्ंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ः०० बजेदेखि ५ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

यसरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि मंसिर १६ गते आइतबारका दिन विहान ७ः००बजेदेखि अपराह्न ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने कार्यक्रम रहेको छ। मतदान कार्यमा सहभागी भै आफ्नो मताधिकार प्रयोग गर्न आयोगले सम्बन्धित सबै मतदाताहरूमा आह्वान गरेको छ।

Leave a review

This will close in 0 seconds