राणा शासन र राजतन्त्रको अन्त्य कांग्रेसले गरेको कांग्रेस महामन्त्री शर्माको भनाई

साझेदारी दैनिक
257 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ नेपाली कांग्रेसका कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

उपनिर्वाचनको प्रचारप्रसारको क्रममा कांग्रेस महामन्त्री शर्माले रौतहटको ईशनाथ नगरपालिका –७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई बिहीबार सम्वोधन गर्दै उनले यस्तो बताएका छन्।

नेपाली कांग्रेस ठूलो इतिहास बोकेको पार्टी भएको उनले बताए। कांग्रेसलाई कसैले दबाउन खोजें आफैं समाप्त हुने उनको भनाई थियो। कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको उनको कथन थियो।

कांग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको पार्टी भएकोले आउँदो मङसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउन उनले आग्रह गरे।

कांग्रेससंग मधेशको विशेष सम्बन्ध रहेको उनले चर्चा गरे। मधेशको विकास र समृद्धिको लागि कांग्रेसलाई जिताएर अझै मजबूत एवं शक्तिशाली बनाउनुपर्ने शर्माले धारणा राखे।

मधेश र पहाडमा उस्ता उस्तै समस्या रहेको उनले बताए। ती समस्याहरूको निकासका लागि कांग्रेसलाई बलियो बनाउनुपर्ने उनले बताए।

रौतहटको ईशनाथ नगरपालिका –७ को वडा अध्यक्ष पदका लागि हुन् लागेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शेख अब्दुल खलिकलाई रुख चिन्हमा मतदान गरी निर्वाचित गराउन महामन्त्री शर्माले सबैसंग आग्रह गरेका थिए।

कार्यक्रममा कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना,कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादव,मधेश प्रदेशका अर्थ मन्त्री सुनिल भन्ने जितेन्द्र प्रसाद यादव,माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Leave a review