कार्यसम्पादन मूल्याङ्कनमा ठोरी गाउँपालिका पहिलो,वीरगञ्ज आठौं

राम मण्डल
292 पाठक संख्या

वीरगञ्ज : कार्य सम्पादन मूल्याङ्कनमा पर्सामा ठोरी गाउँपालिका पहिलो भएको छ। ७१ दशमलव आठ अंक पाएर ठोरी उत्कृष्ट पालिका भएको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा ठोरीले उत्कृष्टता हासिल गरेको हो। पर्सामा १४ पालिका रहेको छ। ठोरी मधेस प्रदेशमै उत्कृष्ट पालिका भएको हो।

जिल्लाको सदरमुकाम समेत रहेको वीरगञ्ज महानगरपालिका भने जिल्लामा भएको गाउँपालिका र नगरपालिका भन्दा पनि कम अङ्क ल्याएर आठौं स्थान पाएको छ। वीरगञ्ज महानगरले ४३ दशमलव १ अङ्क ल्याएको छ। दोस्रो स्थानमा रहेको पटेर्वा सुगौली गाउँपालिकाले ६३ दशमलव ५ अंक ल्याएको छ।

तेस्रो स्थानमा रहेको पर्सागढि नगरपालिकाले ५१ दशमलव ५ अङ्क ल्याएको छ। त्यस्तै जगरनाथपुर गाउँपालिकाले ४८ दशमलव ८ अङ्क ल्याएर चौथो स्थान हासिल गरेको छ। सखुवा प्रसौनी ४५ दशमलव १ अङ्क ल्याएर पाँचौ स्थानमा परेको छ। पोखरिया नगरपालिका ४४ दशमलव ३ अङ्कका साथ छैठो भएको छ।

छिपहरमाइ गाउँपालिका ४४ दशमलव १ अङ्क ल्याएर सातौ स्थान प्राप्त गरेको छ ।त्यस्तै नवौं स्थानमा धोबिनी गाउँपालिका ४० दशमलव ९ अङ्क ल्याएर भएको छ। दशौ स्थानमा बिन्द्वासिनी ३८ दशमलव २ अङ्कका साथ भएको छ। एघारौं स्थानमा कालिकामाइ गाउँपालिका ३६ दशमलव ६ अंक हासिल गरेर भएको छ।

बाह्रौ स्थानमा बहुदरमाइ नगरपालिका भएको छ। उसले ३६ दशमलव ५ अङ्क ल्याएको छ ।यसैगरी जिरा भवानी गाउँपालिका ३२ दशमलव ४ अङ्क र सबैभन्दा कम पकहा मैनपुर गाउँपालिकाले ३२ अङ्क प्राप्त गरेको छ ।आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ।

ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च,बेरूजु,लेखा परीक्षणले औँल्याएको बेरूजु,स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग,आवधिक योजना गरे नगरेको,राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ।समय सीमाभित्र बजेट ल्याए नल्याएको,बजेट पास गरे–नगरेको,घरजग्गा रजिष्ट्रेसन शुल्क,मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएको लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ।

Leave a review

This will close in 0 seconds