भारतीय भूमिबाट कुखुरा,अण्डा चल्ला ल्याउन पर्सामा प्रतिबन्ध लगाइने,अण्डा नष्ट

राम मण्डल
358 पाठक संख्या

वीरगञ्ज : पर्सामा भारतीय भूमिबाट कुखुरा अण्डा ल्याउन पर्सामा प्रतिबन्ध लगाइने भएको छ।बर्डफ्लु नियन्त्रणको लागि आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। वर्डफ्लू नियन्त्रणको लागि पर्सा स्थित सीमानाका भएर भारतीय भूमिबाट आउने कुखुरा,सेतो अण्डा,चल्लालाई पूर्ण रूपमा प्रतिबन्ध लगाइने निर्णय गरिएको हो।

भारतसित सीमा जोडिएको सीमा क्षेत्रमा थप निगरानी र अनुगमन गर्ने पनि जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ। बैठकले पछिल्लो समय छिमेकी मुलुकमा वर्डफ्लूको प्रकोप फैलिरहेको सन्दर्भमा सीमावर्ती क्षेत्रमा भारतीय भूमिबाट सेतो अण्डा,कुखुरा लगायतका पदार्थहरुको अवैध आयातलाई तत्काल नियन्त्रण गर्न विभिन्न निर्णयहरु गरेको हो।

बैठकले नेपालमा पैठारीका लागि प्रतिवन्धित कुखुरा,चल्ला र सेतो अण्डा भारतीय भूमिबाट ल्याउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो। यस्को लागि सीमा क्षेत्रमा थप निगरानी बढाउने,यस संग सम्बन्धित सूचना तथा जानकारी सरोकारवाला सबै निकायले एक आपसमा आदानप्रदान गर्ने पनि सो बैठकले निर्णय गरेको छ।

आन्तरिक बजारमा यस्ता पदार्थको उपभोग एवं बेचबिखन कार्यलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने निर्णय सो बैठकले गरेको छ। त्यस्को लागि भेटेनरी अस्पताल तथा पशु
सेवा केन्द्र,पर्साका प्रमुख डा. राज कुमार शाहको संयोजकत्वमा -यापिड एक्सन टिम गठन गरिएको छ ।

उक्त टिमले सोमबार देखि नै अनुगमन र कारवाही थाल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।अनुगमनको क्रममा प्राप्त वस्तुस्थितिको आधारमा सम्बन्धित पक्षलाई कारवाही गर्ने र प्रस्तुत निर्णय सर्वसाधारणको जानकारीको लागि प्रकाशन÷प्रसारण गर्ने समेत बैठकले निर्णय गरेको हो।

यसैबिच जिल्ला प्रशासन कार्यालयले सोमबार पर्साको पोखरिया नगरपालिकामा रहेको अण्डा पसल हरुको अनुगमन गरेको छ। पोखरिया नगरपालिका–४ स्थित अनुगमनको क्रममा विभिन्न ठेलामा राखेर बिक्रि गरिरहेको अवस्थामा ७९ क्यारेटमा रहेको दुई हजार ३७० वटा अन्डा नष्ट गरेको छ ।

Leave a review

This will close in 0 seconds