बारामा एसईई परीक्षाको पहिलो दिन विहीबार,८ हजार छ सय ९० जना परीक्षार्थी उपस्थिती

संदिप प्रसाद यादव
634 पाठक संख्या

कलैया : देशभर एकसाथ संचालन भएको एसईई परीक्षामा पहिलो दिन बिहीवार बारामा सामन्यता शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।

परीक्षाको पहिलो दिन विहीबार अग्रेजी विषयको परिक्षा भएको हो । पहिलो दिनको परिक्षामा बाराबाट ४ हजार ३ सय ९१ जना छात्रा र ४ हजार २ सय ९९ जना छात्र गरी ८ हजार ६ सय ९० जना उपस्थित भएका छन् ।

परिक्षा दिन फारम भरेका मध्ये अग्रेजी विषयमा ३ सय ९० जना छात्रा र ६ सय ६ जना छात्र गरी जम्मा ९ सय ९६ जना परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई बाराका नायब सुब्बा एवम् परिक्षा प्रमुख उपेन्द्र चौधरीले जानकारी गराएका छन ।

बारामा एसईई परिक्षालाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मूल अनुगमन समितिसहित १३ उप अनुगमन समिति गठन गरि १४ वटा अनुगमन समितिले जिल्लाभरका परिक्षा केन्द्रहरुमा अनुगमन गरिरहेका छन ।

अनुगमनको क्रममा रहेको टोलीलाई दुर्गा नमुना माध्यमिक विद्यालय स्कुलका केन्द्राध्यक्ष मनोज यादवले परीक्षार्थीहरुको साथबाट मोबाइल डिजिटल घडी फेला नपरेको जानकारी दिए। शान्तिपूर्ण वातावरणमा परीक्षा कक्षामा परीक्षार्थीहरुले जाँच दिइरहेको उनले बताए।

सोही अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले परीक्षालाई स्वच्छ,निस्पक्ष तथा मर्यादित बनाउनका लागि प्रवेश पत्र बाहेक मोबाईल,किताब,गाईड लगायत चिट चोरीका लागि बिधार्थीले प्रयोग गर्ने सबै प्रकारका समाग्रीहरु पूर्ण रुपमा निषेध गरिएको साझेदारी दैनिकलाई बताएका छन्।

जिल्लामा ४२ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई परीक्षा मर्यादित बनाउन कडा निर्देशन प्रजिअ बसन्त अधिकारीले दिएका छन । सामुदायिक बिधालय १ सय ५ र निजि बिधालय ४७ गरि कुल १ सय ५२ वटा बिधालय संलग्न रहेको परिक्षा प्रमुख चौधरीले बताए । यो बर्ष बारामा एस.ई.ई परिक्षामा प्राविधिक र साधारण तर्फ कुल परिक्षार्थी ९ हजार ६ सय ८६ जना परीक्षार्थी सहभागी रहेका छन् ।

सोही उप–अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईसहित जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित,राष्ट्रिय अनुसन्धान बाराका प्रमुख अनुसन्धान अधिकृत रामबाबु चौधरी लगायतको टोलीमा सहभागी छन ।

Leave a review

This will close in 0 seconds