लोकतन्त्र जबाफदेहिता र उत्तरदायित्वपूर्ण शासन प्रणाली हो,यसको बिरुध जानेलाई कार्बाही हुन्छ : गृहमन्त्री लेखक

रञ्जन यादव
441 पाठक संख्या

सिमरा : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले अहिले जनताको केही चिन्ता र आक्रोशलाई देखाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भएको बताउँदै लोकतन्त्र जबाफदेहिता र उत्तरदायित्वपूर्ण शासन प्रणाली भएको बताएका छन् ।

तराई यातायात व्यवसायी सङ्घको १८ औँ साधारण सभाको उद्घाटन शनिबार बाराको सिमरामा गर्नुहुँदै गृहमन्त्री लेखकले गल्ती गर्ने मन्त्री,प्रधानमन्त्रीलाई समेत लोकतन्त्रमा कारबाही हुने तर राजतन्त्रमा गल्ती गर्ने राजालाई औला ठड्याउँदा कारबाही र जेलनेल भोग्नु परेको इतिहास कायम रहेको सुनाउँनुभयो ।

उहाँले १८ बर्ष अगाडी नेपाली जनताले फालेको राजतन्त्र फर्काउन भन्दै राजतन्त्रको बारेमा कुनै जानकारी नै नभएका किशोर किशोरीलाई प्रयोग गरी भड्काउने काम भएको प्रति खेद व्यक्त गर्नुभयो ।

गणतन्त्रको कल्प अन्य कुनै पनि तन्त्र हुन नसक्ने दाबी गर्नुभएको छ ।जनतामा निहित सार्वभौम सत्तामाथि कसैले प्रहार गर्छ भने त्यस्तालाई कानुनको दायरामा ल्याईने चेतावनी दिनुभएको छ ।

यसको उपयोग सर्वसाधारण जनताले गर्न पाए मात्र लोकतन्त्र फस्टाउन सक्ने दाबी गर्नुभयो । उहाँले सङ्घीयता र समावेशीता कायम गर्न मधेसको सबैभन्दा ठुलो योगदान रहेको चर्चा गर्दै वर्तमान सरकार निजी क्षेत्र सँग मिलेर मुलुकको अर्थतन्त्र मजबुत बनाउँदै समृद्धिको यात्रामा अगाडी बढिरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले पछिल्लो समय सरकारले केही महत्त्वपूर्ण अध्यादेश जारी गरेको कुरा उल्लेख गर्दै देशमा औद्योगिक तथा व्यबसायीक वातावरण सृजना गर्ने र मुलुकको समृद्धि र विकास सँगै सुशासनलाई कायम गर्न अध्यादेश महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुने दाबी गर्नुभयो ।

उहाँले यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ भन्नुहुँदै यातायात क्षेत्र निजी क्षेत्रको सबैभन्दा धेरै लगानी र रोजगारी सृजना गर्ने क्षेत्र भएको हुँदा मुलुकको आर्थिक विकाश सँग यातायात क्षेत्र प्रत्यक्ष रुपमा जोडिएको बताउनुभयो ।

उहाँले हाम्रो संविधानले ३ खम्बे अर्थनीतिको अङ्गीकार गरेको छ भन्नुहुँदै सार्वजनिक निजी र सहकारीको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने र राष्ट्रिय अर्थतन्त्र पनि मजबुत बन्ने बताउनुभयो ।

तराई यातायात व्यवसायी संघका अध्यक्ष ओम कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पूर्व मन्त्री एवं सांसद कृष्ण कुमार श्रेष्ठ,अच्युत मैनाली,मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव,पूर्व मन्त्री फरमुल्लाह मन्सुर,मधेश प्रदेश सदस्य देवनारायण चौधरी,बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds