पथलैया–हेटौंडा–नारायणघाट सडक चार लेनमा स्तरोन्नती हुने,वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सार्वजनिक सुनुवाई

रञ्जन यादव
1.8k पाठक संख्या

जीतपुर : पथलैया–हेटौंडा–नारायणघाट १०० कि.मि. सडक खण्ड स्तरोन्नती परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

सडक विभाग,आयोजना निर्देशनालय (ए.डि.बि.),बिशालनगर,काठमाडौँद्वारा प्रस्तावित पूर्व–पश्चिम राजमार्ग स्तरोन्नती आयोजना अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न उक्त सार्वजनिक सुनुवाई भएको हो ।

कार्यक्रमको उद्देश्य प्रभावित स्थानीय बासिन्दा,सरोकारवालाहरू र सरोकार निकायहरूबाट राय तथा सुझाव संकलन गर्नु रहेको जनाईएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्दा परियोजनाले पार्ने सम्भावित असरहरू — वातावरण,जनजीवन,वन्यजन्तु,जलस्रोत,स्वास्थ्य आदि क्षेत्रमा के–कस्तो प्रभाव पर्न सक्दछ भन्नेबारे गहन विश्लेषण गरिने जनाइएको छ।

सुनुवाई कार्यक्रममा स्थानीय समुदायको सहभागिता रहेको थियो। उपस्थित सहभागीहरूले सडकमार्फत सम्भावित फाइदाका साथै जोखिमहरूबारे आफ्ना धारणा राखेका थिए । आयोजना निर्देशनालयले संकलित सुझावहरूलाई अध्ययन प्रतिवेदनमा समावेश गर्दै आगामी चरणमा परियोजना कार्यान्वयन अघि वातावरणीय स्वीकृति लिने प्रक्रिया अघि बढाउने जनाएको छ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल,उपप्रमुख भोला प्रसाद अधिकारी,प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँई,वडा अध्यक्षहरु,बन तथा बाताबरणसँग सम्बन्धित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रस्तावित पूर्व–पश्चिम राजमार्ग स्तरोन्नती आयोजना अन्तर्गत पथलैया–हेटौंडा–नारायणघाट १०० कि.मि. सडक खण्ड स्तरोन्नती गरी दुई लेनको सड्कलाई ४ लेनमा परिवर्तन गरिनेछ ।

यो सड्क खण्ड मधेश प्रदेशका बारा जिल्ला र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्ला भएर गएको छ । यो आयोजना अन्तर्गत सड्कको चौडाई शहरी क्षेत्रमा ५० मि.,अर्धशहरी क्षेत्रमा ३७.४ मि. र ग्रामिण तथा बन क्षेत्रमा २४ मि. कायम भएको छ ।

सड्कलाई दुई लेनबाट ४ लेनमा स्तरोन्नति गर्दा १३ स्थानमा जङ्सङ् सुधार,सड्कको दुबै भागमा सर्भिस रोड,साईकल लेन,शहरी क्षेत्रमा फुटपाथ,पैदल यात्रु त्रसिङ्गकोलागि ७ स्थानमा आकाशे पुल र १२ स्थानमा अन्डरपास,४ कि.मि.बढि लम्बाई भएको २ भ्याडक्ट सहित २० स्थानमा बन्यजन्तु क्रसिङ्ग,२२ नयाँ पुलहरु र २४८ बक्स कल्भट निर्माणमा स्लोप स्थिरिकरणका लागि सिभिल र १७८० स्थानमा सड्क बत्ती रहनेछन् ।

प्रस्ताबित सड्क स्तरोन्नती ५० मि.क्षेत्राधिकार भित्र गरिने आयोजनाले जनाएको छ ।सड्क र पुल निर्माणकोलागि ३ बर्ष लाग्ने र कुल लागत ५० अर्ब ७ करोड ५९ लाख ५० हजार १ सय २२ रुपैया लाग्ने अनुमान गरिएको छ ।

करिब दुई बर्ष लगाएर गरिएको बाताबरणीय परिक्षण मुल्याङ्कनमा सड्क निर्माणको क्रममा बारा जिल्लाबाट ६९८१ रुखहरु,मकवानपुरबाट ७०९८ रुखहरु र बाँकी २०७८ रुखहरु चितवन जिल्लाबाट कटान गरिने आयोजनाले जनाएको छ ।

Leave a review

This will close in 0 seconds