जीतपुर : बन्यजन्तु संरक्षणमा विशेष ध्यान दिँदै,बाघ संरक्षणका लागि युवाहरुलाई संरक्षण च्याम्पियनको रूपमा तयार पार्ने उद्देश्यले दुई दिने प्रशिक्षण तालिम सिमरामा सम्पन्न भएको छ ।
तालिम डिभिजन बन कार्यालय बारा, सिमराको आयोजनामा र तराई भु परिधि कार्यक्रम कोहलपुर,बाँकेको सहयोगमा सम्पन्न गरिएको हो। तालिममा बन तथा बन्यजन्तु संरक्षणमा जुटेका जिल्लाका विभिन्न क्षेत्रका युवाहरूले सहभागिता जनाएका थिए ।
कार्यक्रमले बाघको महत्व,यसको संरक्षणमा देखिएका चुनौतीहरू र स्थानीय समुदाय तथा युवाहरूको भूमिकाबारे गहन जानकारी दिएको थियो। सहभागीहरुलाई संरक्षणका प्रभावकारी तरिकाहरू सचेतना अभिवृद्धि र समुदायसँगको सहकार्यमा आधारित रणनीतिबारे समेत प्रशिक्षित दिएको थियो ।
आयोजक संस्था डिभिजन बन कार्यालय बाराका अधिकृत बर्षा लामाका अनुसार,युवाहरूलाई संरक्षण च्याम्पियनको रूपमा विकसित गर्दै भविष्यमा बन्यजन्तु संरक्षणमा उनीहरूको सक्रियता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।तालिमले सहभागीहरूमा संरक्षणप्रति चेतना र जिम्मेवारीको भावना झन् मजबुत बनाएको विश्वास आयोजकले व्यक्त गरेको छ ।
तालिममा सहभागी युवाहरुलाई तराई भु परिधि कार्यक्रमका कलष्टर ईन्चार्ज प्रेम प्रसाद पौडेल ,डब्लु.डब्लु.एफ.नेपालको बन्यजन्तु बिज्ञ डा.सशांक पौडेल,डब्लु.डब्लु.एफ.नेपालको कार्यक्रम साहयक निसान के.सि. र डिभिजन बन कार्यालय बाराका अधिकृत संजय चौधरीले प्रशिक्षण दिएका थिए ।

