वीरगञ्ज : पर्सा प्रहरीले गोली प्रहारको घटनामा संलग्न रहेको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएको छ।
पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा बिहीबार बेलुकी भएको उक्त घटनामा १६ वर्षीय गोलु आलम घाइते भएका थिए। गाउँपालिका कार्यालय पछाडिको सडकमा अपरिचित समूहले गोली चलाउँदा आलमको बायाँ तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। घाइते आलमको उपचार नारायणी अस्पताल वीरगञ्जमा भइरहेको छ।
नियन्त्रणमा लिइएकाहरू सबै किशोर (टिनएजर्स) रहेको र उनीहरूको गाउँमा आचरण र चालचलन राम्रो नभएको प्रहरीले जनाएको छ।
साँझ घर फर्कँदै गर्दा बाटोमा केही युवाबीच विवाद भइरहेकोमा सोही क्रममा अचानक गोली चलेको र आफू घाइते भएको आलमले प्रहरीमा बयान दिएका छन्। गोली कसले चलाएको आपूmले देख्न नपाएको उनले बयानमा भनेका छन्।
भिस्वा बजारबाट झलमहिया तर्फ फर्किने किशोरी तथा युवतीहरूलाई जिस्क्याउने र छेडखानी गर्ने विषयमा दुई गाउँका युवाबीच पछिल्ला दिनमा तनाव भएको थियो।सोही विवाद चरममा पुगेर गोली चलाएको अनुमान गरिएको छ। पर्सा प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको छ।

