जिप्रकामा पत्रकारलाई प्रवेशमा रोकेपछि प्रेस युनियन र प्रेस सेन्टरको कडा आपत्ति

साझेदारी दैनिक
315 पाठक संख्या

मकवानपुर : जिल्ला प्रशासन कार्यालय मकवानपुरले पत्रकारहरुलाई प्रवेशमा रोक लगाएको र दृश्य खिच्न नदिएको विरोधमा पत्रकारहरुका संगठनले विरोध जनाउदै गम्भिर ध्यानाकर्ष भएको जनाएका छन ।

नेपाल प्रेस युनियन मकवानपुरले जिल्लामा समाचार संकलनका क्रममा पत्रकारलाई प्रवेश रोकिएको र दृश्य खिच्न नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार समाचार संकलनका लागि पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन),महासंघका सदस्य गणेश दुलाल (रातोपाटी डटकम),मनिल महत्तो (टिम टिभी) लगायतका पत्रकारहरुलाई कार्यालय परिसरमा प्रवेश गर्नमा रोक लगाएर र फोटो तथा भिडियो खिच्न समेत बन्देज गरेको थियो ।

उक्त दिन नेपाली कांग्रेस मकवानपुरले हेटौँडाका जनप्रतिनिधिमाथि भएको घटनासम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको थियो। तर सो विषयको समाचार संकलन गर्न गएका पत्रकारहरुलाई कार्यालय प्रशासनले अनुमति नदिएको आरोप प्रेस युनियन मकवानपुरले लगाएको छ।

नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको तीव्र भत्र्सना गर्दै गरिएको छ ।

“सार्वजनिक पदमा बसेका पदाधिकारीहरुले नागरिकका सरोकारका विषयमा जानकारी दिनुपर्ने संवैधानिक दायित्व विपरीत पत्रकारलाई पेशागत कार्यमा रोक लगाउनु संविधान र सञ्चार ऐनको उल्लङ्घन भएको प्रेस युनियन मकवानपुरले जनाएको छ ।

प्रेस युनियनले प्रमुख जिल्ला अधिकारीसमक्ष पत्रकारको सुरक्षा र मर्यादा सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ।

यसैगरी सोही घटनाको विषयमा प्रेस सेन्टर नेपालले पनि घटनाको भत्र्सना गरेको छ । प्रेस सेन्टरले पनि एक विज्ञप्ती जारी गर्दै प्रेस स्वातन्त्रता र संवैधानिक दायित्व विपरीत पत्रकारलाई पेशागत कार्यमा रोक लगाउनु दुखदाय भएको जनाएको छ ।

Leave a review

This will close in 0 seconds