कलैया । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष जितेन्द्र सोनलले बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको घटनाका दोषीलाई कारबाही गर्न र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सोनलले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेका हुन्। उनले प्रहरीको गोली लागेर गम्भीर घाइते भएका आदित्य पासवानसहित अन्य घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
फेटामा भएको घटना अत्यन्त दुःखद भएको उल्लेख गर्दै सोनलले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनले स्थानीय जनप्रतिनिधिलाई घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम गर्न अपिल गरेका छन्।
त्यसैगरी, फेटाका बुद्धिजीवी, युवा तथा राजनीतिक र सामाजिक क्षेत्रका अगुवाहरूलाई घटनाको अवस्थामाथि निगरानी राख्दै सामाजिक सद्भाव र शान्ति व्यवस्था कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
शनिबार फेटा गाउँपालिका–३ मा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर विवाद भएपछि झडप भएको थियो। झडपका क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय आदित्य पासवान घाइते भएका थिए भने ढुंगामुढाबाट पाँच जना प्रहरीसमेत घाइते भएका थिए। घटनाका क्रममा अस्पताल परिसरमा तोडफोड तथा करिब ९ वटा मोटरसाइकलमा आगजनीसमेत भएको थियो।
साथै सोनलले आदित्य पासवानलगायत घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भगवान् पशुपतिनाथसँग प्रार्थना गरेका छन्। घाइते पासवानको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ।


