जनकपुरधाम : मधेश प्रदेश सरकारको बन तथा वातावरण मन्त्रालय जनकपुरधामद्वारा सञ्चालित कार्यक्रमहरूको जानकारी दिने उद्देश्यले पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा मिडियाकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मिथिला नगरपालिका–९, लालगढमा आयोजित उक्त कार्यक्रममा प्रदेशभरिका आठवटै जिल्लाबाट पत्रकारहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका बन तथा वातावरण मन्त्री संजय यादवले वन संरक्षणमा सरकारको मात्रै प्रयासले पुग्ने नसक्ने उल्लेख गर्दै नागरिक स्वयं सचेत र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे। उनले मिडियाकर्मीहरूलाई पनि संरक्षण र खबरदारीमा सघाउन आग्रह गरे।
कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिल कर्णले खोजमूलक र तथ्यपरक पत्रकारिताको आवश्यकता र प्रभावबारे प्रस्तुतीकरण दिएका थिए। उनले जिम्मेवार र जनमुखी पत्रकारिताले मात्र जनताको हितमा काम गर्न सक्ने उल्लेख गरे।
बन तथा वातावरण मन्त्रालयका सचिव उद्वव पोख्रेलले आठै जिल्लामा रहेका वन क्षेत्रहरूको अवस्था, तिनबाट उत्पादित काठ तथा मन्त्रालयका विभिन्न गतिविधिबारे विस्तृत जानकारी प्रस्तुत गरे।
कार्यक्रमको स्वागत मन्तव्य धनुषाका डिभिजनल बन अधिकृत विनोद सिंहले राखेका थिए। कार्यक्रमले प्रदेशस्तरीय बन तथा वातावरणीय सरोकारमा सूचना प्रवाह र सहकार्यको लागि कार्यक्रम गरिएको थियो ।
अन्तरक्रियामा मधेश प्रदेश सरकारका बन निर्देशनालयका निर्देशक जगन्नाथ जैसवालको बिशेष उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन बन तथा बाताबरण मन्त्रालयका भु संरक्षण अधिकृत नवोनारायण मिश्रले गरेका थिए ।

