महामारीको जोखिममा छिटो प्रतिकार्यका लागि परवानीपुरमा कार्यशाला

रञ्जन यादव
18 पाठक संख्या

जीतपुर । स्वास्थ्य आपतकालीन अवस्था तथा महामारीको जोखिम देखिए तत्काल अपनाउनुपर्ने तयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा परवानीपुरमा कार्यशाला सम्पन्न भएको छ।

परवानीपुर गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महामारी तथा स्वास्थ्यजन्य विपद्का बेला स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिका, आवश्यक समन्वय र तत्काल परिचालन गर्नुपर्ने संयन्त्रबारे छलफल गरिएको हो।

स्वास्थ्य निर्देशनालय सपही, द प्यान्डेमिक फन्ड र विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा भएको कार्यशालामा स्थानीय तहमा स्वास्थ्य आपतकालीन अवस्था उत्पन्न हुँदा सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने, जोखिम पहिचान गर्ने तथा बिरामी व्यवस्थापनलाई चुस्त बनाउने विषयमा सहभागीलाई जानकारी गराइएको थियो।

कार्यक्रममा परवानीपुर गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले अध्यक्षता गर्नुभएको थियो। वडा नम्बर ५ का अध्यक्ष रामेश्वर साह कलवारसहित गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।

आपतकालीन अवस्थामा स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई तत्काल परिचालन गर्ने, उपलब्ध स्रोत–साधनको उचित प्रयोग गर्ने र विभिन्न सरोकारवाला निकायबीच समन्वय कायम गर्ने विषयलाई कार्यशालामा प्राथमिकताका साथ उठाइएको थियो।

स्थानीय तहमा महामारी तथा अन्य स्वास्थ्यजन्य विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई बलियो बनाउनु आवश्यक रहेको आयोजकले जनाएको छ। आपतकालीन अवस्था आइपर्दा ढिलाइ नगरी समन्वयात्मक ढंगले प्रतिकार्य गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ।

स्वास्थ्यसम्बन्धी विपद्को सामना गर्न स्थानीय तहकै संयन्त्र बढी प्रभावकारी हुने भएकाले स्वास्थ्यकर्मीको तयारी, स्रोत–साधनको व्यवस्थापन र सम्बन्धित निकायबीचको समन्वयलाई अझ मजबुत बनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।

Leave a review