बारामा ४६ हजार हेक्टरमध्ये ३४ हजार हेक्टरमा मात्रै रोपाइँ

साझेदारी दैनिक
762 पाठक संख्या

कलैया । बारामा यस वर्ष साउन महिनाको पहिलो हप्ताको दोस्रो दिनसम्म जम्मा ७५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

प्रत्येक वर्ष साउनको सुरुआतसम्म करिब ८५ देखि ९० प्रतिशत रोपाइँ सकिने गरे पनि यस वर्ष समयमै वर्षा नहुँदा हालसम्म ७५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र कलैया बाराले जनाएको छ।

कृषि ज्ञान केन्द्र बाराका सूचना अधिकारी गणेश महराका अनुसार वर्षा नहुँदा किसानले समयमै रोपाइँ गर्न सकेका छैनन्। उनले भने, ‘‘आवश्यक मात्रामा वर्षा नपरेकाले धेरै ठाउँमा किसानहरू मोटर पम्प, दमकल तथा नहरको पानी प्रयोग गरेर रोपाइँ गरिरहेका छन्।’’

कलैया उपमहानगरपालिका–१० निलकण्ठवाका किसान अनिरुद्ध प्रसाद कुशवाहाले पानी अभावका कारण रोपाइँ गरिएको खेत समेत सुख्खा परेको गुनासो गरे। ‘‘धेरै ठाउँमा पानीको अभावले लगाइएको धान समेत सुक्न थालेको छ,’’ कुशवाहाले दुखेसो पोखे।

बारामा प्रत्येक वर्ष करिब ४६ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती हुँदै आएकोमा हालसम्म ३४ हजार ५ सय १५ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यो हालसम्म जम्मा ७५ प्रतिशत मात्र हो।

Leave a review