कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै बारा जिल्लामा चुनावी माहोल तीव्र बन्दै गएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राजनीतिक दलका उम्मेदवारसँगै ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएपछि यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने संकेत देखिएको हो।
निर्वाचन कार्यालयका अनुसार बारा निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा राष्ट्रिय, क्षेत्रीय दल तथा स्वतन्त्र उम्मेदवारको उल्लेख्य सहभागिता रहेको छ। स्वतन्त्र उम्मेदवारको संख्या अघिल्ला निर्वाचनको तुलनामा बढ्नु जनतामा दलप्रतिको भरोसा घट्दै गएको र वैकल्पिक राजनीतिक नेतृत्वको खोजी बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।
बारा निर्वाचन क्षेत्र नं. १ मा विकास, रोजगार, शिक्षा र सिँचाइ यहाँका प्रमुख चुनावी मुद्दा बनेका छन्। क्षेत्र नंम्बर २ मा दलगत प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना बढेको छ।
क्षेत्र नंम्बर ३ मा परम्परागत राजनीतिक दलका अनुभवी नेतासँगै नयाँ अनुहारहरू प्रतिस्पर्धामा छन्। पुर्व मन्त्रीहरु,मधेस केन्द्रित दल, राष्ट्रिय दल र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। क्षेत्र नंम्बर ४ मा पूर्व मन्त्री, पूर्व सांसद तथा नयाँ पुस्ताका उम्मेदवार मैदानमा रहेकाले यस क्षेत्रलाई सबैभन्दा चासोको निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ।
मनोनयन दर्ता सकिएसँगै राजनीतिक दल तथा उम्मेदवारहरू प्रचार–प्रसारको रणनीति बनाउन सक्रिय भएका छन्। औपचारिक प्रचार सुरु नहुँदै उम्मेदवारहरू घरदैलो, भेटघाट तथा साना कार्यक्रममार्फत मतदातासँग सम्पर्क बढाउन थालेका छन्। बजार, चोक र बस्तीहरूमा दलका झन्डा, ब्यानर र चुनावी नाराले वातावरण चुनावमुखी बन्दै गएको छ। सामाजिक सञ्जालमार्फत उम्मेदवार र दलका एजेन्डा सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ, जसले युवा मतदातालाई लक्षित गरिएको देखिन्छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ। सुरक्षा निकायले आवश्यक सतर्कता अपनाएको जनाएको छ। निर्वाचन कार्यतालिकाअनुसार प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न वितरण लगायतका प्रक्रिया भईसकेको जनाइएको छ।
उम्मेदवारी दर्तापछि जिल्लाभर राजनीतिक बहस र छलफल बढेको छ। चिया पसल, चौतारी र बजारमा उम्मेदवारको योग्यता, अघिल्लो कार्यकालको मूल्याङ्कन र भावी योजनाबारे चर्चा भइरहेको छ। विकास, सुशासन, रोजगारी, स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण मतदाताको मुख्य चासोमा रहेका छन्।
विश्लेषकहरूका अनुसार धेरै उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना बढे पनि यसले निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक र लोकतान्त्रिक बनाउनेछ। आगामी दिनमा प्रचार–प्रसार तीव्र हुँदै जाँदा बारा जिल्लाको चुनावी सरगर्मी थप बढ्ने देखिन्छ।

