सोमबारबाट नवरात्रको व्रत आरम्भ

राजेश कुशवाहा
131 पाठक संख्या

कलैया : बारामा सोमबारदेखि नवरात्रको व्रत आरम्भ भएको छ ।

आश्विन शुक्ल प्रतिपदा देखि शुरु भएको यो पर्व जिल्लाको १६ पालिकाका हिन्दु धर्मावलम्बीहरुले मनाईरहेका छन । यो नवरात्रको व्रतलाई महासिद्धि प्रदायक, अत्यन्त दुर्लभ पुण्यदायक, सम्पूर्ण शत्रुहरूलाई विनाश गर्ने र सम्पूर्ण प्राणीहरूको उपकार गर्ने उत्कृष्ट व्रतका रूपमा बडादसैं को वर्णन गरिएको पाइन्छ।

सबै मनोकांक्षा पूरा हुने हुँदा यसलाई प्राणीहरूको उपकार गर्ने विशिष्ट व्रत मानिएको छ। परं सुख, ऐश्वर्य, भोग, बल, तेज, प्रताप, धन, पत्नी, पुत्र, विद्या, बुद्धि, सौभाग्य, राज्य आदि सबै वस्तु प्राप्त गराउने हुँदा यस व्रतलाई महाव्रत समेत भनिएको छ।

बडादसैंमा भगवती जगदम्बा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । शक्ति आर्जनका लागि दुर्गाको आराधना गरिन्छ। बडादसैंलाई दसैं, विजया दशमी आदि नामले चिनिन्छ । नेपाली समाजमा राष्ट्रिय पर्वको रूपमा मनाइने दसैं पर्व आश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म विशेष हर्षोल्लासका साथ पन्ध्र दिनसम्म यो पर्व मानाइन्छ।

आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैंको प्रथम दिनबाट देवीको पूजा–आराधना प्रारम्भ गरिन्छ। यस दिन शास्त्रोक्त विधिले शुभ साइतमा घटस्थापना गरी जमरा राखिन्छ र घरमा दुर्गा भवानीको आवाहन गरी दैनिक रूपमा भगवतीको विशेष पूजा गरी चण्डीपाठ प्रारम्भ गरिन्छ। नवरात्रका द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी र षष्ठीका दिनसम्म स्थापित भगवतीको निरन्तर पूजाआराधाना गरी नियमित चण्डी पाठ गरिन्छ। षष्ठीका दिन भने बेलको रूखमा गएर पूजन गरी बेललाई निमन्त्रण गरिन्छ। यो कृत्य सायंकालमा गर्नुपर्छ।

फूलपाती (सप्तमी) का दिन अरू दिनजस्तै भगवतीको नियमित पूजनादि गरी बेलपत्र टिपेर ल्याउनुपर्छ भने धेरै प्रकारका फूलहरू, फलहरू एवं नवपत्रिका ल्याएर घर या पूजाघरको मुख्य द्वारमा राखी हर्ष–बढाइँसाथ फूलपाती भित्र्याइन्छ।

अष्टमी, नवमी र दशमी (बडादसैं) यस पर्वका विशेष दिनहरू हुन्। अष्टमीका दिन शैलपुत्री आदि नवदुर्गाको पूजा, वलिदान आदि कृत्यहरू गरिन्छन्। यस दिन नवदुर्गा भवानीको अर्चना गर्दा दक्षिणबाट उत्तरतिर हुने गरी चामलका नौ थुप्रा लगाएर ती थुप्रामा दक्षिणबाट उत्तरतिर १–१ देवीको क्रमैसँग पूजा गरिन्छ। प्रथममा शैलपुत्री, द्वितीयमा ब्रह्मचारिणी, तृतीयमा चन्द्रघण्टा र त्यसपछि क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री भगवतीको पूजा गरिन्छ।

यसैगरी नवपत्रिका, जनै सुपारी, नैवेद्य, फलफूल, भेटी, दक्षिणा आदि पनि चढाइन्छ। यसै दिन नयाँ हात–हतियार र पुराना कुटो–कोदालो, खुर्पा, खुकुरी तरवार, चुलेंसी, चक्कुलगायत औजारको पुजा गरि बिश्वकर्मा भगवानको समेत पुजा गरिन्छ। निश्चित स्थान तथा कार्यबाहेक कुष्माण्डादिको वलि, नरिवलको बलि, केरा, घिरौलो आदिको वलि घरको अगाडि आँगनमा दिइन्छ। यस क्रममा ‘जय देवी भैरवी…’ आदि बलि दिन भनिने प्रसिद्ध श्लोकहरू उच्चारण गर्नुपर्छ।

तर सात्त्विक पूजामा भने वलिको उपयोग गरिँदैन। बडादसैंको यो अत्यन्त महत्त्वपूर्ण दिनको रूपमा पर्दछ। तिथिअनुसार कालरात्री पूजा पनि यसै दिन गरिन्छ । महानवमीका दिन दैनिक पूजा, भीमसेनको पूजा, चण्डीपाठ, नौ कन्या पूजा, हवन आदि कृत्यहरू सम्पन्न गरिन्छन्।

Leave a review

This will close in 0 seconds