रौतहट । रौतहटको गरुडा नगरपालिका -४ गरुडा तरकारी बजारमा नवनिर्मित कृषि उपज संकलन केन्द्र उद्घाटन गरिएको छ ।
हिजो साँझ अबेर आयोजित एक कार्यक्रमबीच गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले केन्द्रको उद्घाटन गरेका थिए। कृषि उपज संकलन केन्द्रको उद्घाटन गर्दै गरुडा नगर प्रमुख जयसवालले कृषि उपज संकलन केन्द्रको निर्माण भई सञ्चालनमा आएपछि अब किसानलाई प्रत्यक्ष फाइदा हुने बताए।
मेयर जयसवालले भने, ‘पहिला पहिला गरुडा तरकारी बजारमा व्यवस्थित घर नहुँदा फुस्को छाना भएको घरमा जोखिम मोलेर किसानहरू तरकारी बेच्ने र किनमेल गर्ने गरेका थिए, अव्यस्थित घरमा तरकारी राखेर बेच्दा घर भत्किन सक्ने डर हुन्थ्यो ।,
तर अब गरुडा तरकारी बजारमा पक्की घर निर्माण भएको छ जसका कारण किसानहरु अब बिना कुनै डर त्रासको निर्धक्क भएर तरकारी बेच्न पाउने उनले बताए।
नयाँ घरहरू निर्माण भएपछि गरुडा तरकारी बजार पहिलाको भन्दा अहिले व्यवस्थित समेत भएको छ जसका कारण किसानहरुलाई कृषि उपज खरिद बिक्री गर्न निकै सहज भएको गरुडा नगर प्रमुख कन्थमनी जयसवालको भनाइ छ।
कृषि उपज सङ्कलन केन्द्रमा अब गाउँगाउँबाट तरकारी सङ्कलन हुने र बजारीकरण हुने हुँदा स्थानीय कृषकलाई लाभ मिल्ने मेयर जयसवालले बताए ।
उनले आफ्नो नगर क्षेत्रमा निर्माण भएको केन्द्रको भवनबाट स्थानीय कृषकले प्रसस्त लाभ लिनसक्ने अपेक्षा गर्दै आगामी दिनमा थप संरचना निर्माण तथा अन्य आवश्यक कार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘कृषकको हितका लागि निर्माण भएको यो भवनका लागि नगरपालिका, केन्द्र तथा प्रदेश सरकारसंगै मेरो तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दछु ।’
कृषकका पक्षमा सधैं नगरपालिका रहने बताउँदै निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि उनले सल्लाह दिए । पालिकाका तर्फकाट आगामी दिनमा पनि कृषकका हितमा विभिन्न आवश्यक योजनामार्फत सहयोग गर्ने उनले बताए ।
भवनको अभावमा गरुडा तरकारी बजारमा किसानहरूलाई तरकारी बेच्न र किनमेल गर्न आउनेहरूलाई ठूलो कठिनाई हुँदै आएको अवस्थालाई मध्यनजर गर्दै गरुडा नगर प्रमुख कन्थमनी प्रसाद कलवारले गरुडा तरकारी बजारमा पालिकाको लागतमा व्यवस्थित घरहरू निर्माण गराएका हुन् ।
कृषि उपज संकलन केन्द्र निर्माण भएपछि गरुडा नगरवासी निकै हर्षित भएका छन्।


