दुधौरा खोलामा बेपत्ता भएका गोसाई अझै फेला परेनन्

साझेदारी दैनिक
269 पाठक संख्या

कलैया । बाराको प्रसौनीस्थित दुधौरा खोलामा टिकटक बनाउने क्रममा बेपत्ता भएका युवकको दुई दिनदेखि खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला परेका छैनन्।

प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय बिक्की गोसाई आइतबार बिहान दुधौरा खोलाको पुलबाट टिकटक बनाउने क्रममा हाम फालेपछि बेपत्ता भएका हुन्। सो क्रममा उनीसँगै स्थानीय २० वर्षीय अनुराग केशरवाल पनि खोलामा हाम फालेका थिए, तर अनुराग पौडेर किनारमा आउन सफल भएका थिए।

उनको खोजीका लागि आइतबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार खोजी कार्य दुधौरापुलदेखि फेटा गाउँपालिका–१ त्रिबेणीको झुलिङ्गे पुलसम्म र त्यहाँबाट दक्षिणतर्फ त्रिबेणीको नहर पुल, बिश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म सञ्चालन गरिएको थियो।

सो कार्यमा नेपाली सेनाका लप्टन निरज राईको कमाण्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजंग थापाको नेतृत्वमा १० जना, र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमाण्डमा १० जना गरी जम्मा ४३ जनाको टोली मोटरबोटसहित परिचालन गरिएको थियो। तर अहिलेसम्म बिक्की गोसाई फेला नपरेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

Leave a review