पर्साका घुमुवा तानियो, एसपी सुरक्षित : सशस्त्र प्रहरीमा दोहोरो मापदण्ड उजागर

साझेदारी दैनिक
1.1k पाठक संख्या

वीरगंज । सशस्त्र प्रहरी बल नेपालले घुमुवा प्रणाली अन्त्य गर्ने स्पष्ट नीति लिइसकेको दाबी गरिरहँदा पनि पर्सामा भने सोही नीति खुलेआम उल्लंघन भएको तथ्य बाहिर आएको छ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टरका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्देशन विपरीत सादा पोसाकमा घुमुवा परिचालन गरेको खुलासा भएपछि संगठनभित्र गम्भीर प्रश्न उठेको छ।

नीति विपरीत घुमुवा खटाइएका प्रहरी जवान रामराज यादव लाई काठमाडौंस्थित हेडक्वार्टर तानिएको छ। तर, घुमुवा खटाउने मुख्य जिम्मेवार अधिकारी गणपति एसपी भट्टमाथि भने कुनै पनि प्रकारको ठोस विभागीय कारबाही नहुनु ले सशस्त्र प्रहरी संगठनभित्र ‘ठूला जोगाउने, साना दण्डित गर्ने’ दोहोरो मापदण्ड हावी भएको आरोप बलियो बन्दै गएको छ।

सशस्त्र प्रहरी संगठनभित्र घुमुवा प्रणाली भ्रष्टाचार, तस्करी संरक्षण र अवैध आर्थिक कारोबारको माध्यम बनेको निष्कर्षसहित केन्द्रले यसलाई अन्त्य गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देशभर घुमुवा हटाउने प्रक्रिया अघि बढाइए पनि पर्सामा भने गणपति भट्टकै निर्देशन र संरक्षणमा घुमुवा परिचालन भएको स्रोतहरू बताउँछन्।

स्रोतका अनुसार, यादव पाँच वर्षभन्दा बढी समय एउटै जिल्लामा घुमुवा रूपमा खटाइएका थिए, जुन संगठनको सरुवा नीति र अनुशासनको ठाडो उल्लंघन हो। नीति उल्लंघनमा संलग्न जवानलाई मात्र तानेर ‘सुधार’ को नाटक गरिए पनि निर्देशन दिने जिम्मेवार एसपीमाथि कारबाही नहुनुले “कानुन कमजोरका लागि मात्रै हो ?” भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

स्थानीय स्रोतहरूका अनुसार, घुमुवा यादव एसपी भट्टका ‘सेटिङ मिलाउने’ व्यक्ति का रूपमा चिनिन्थे। तस्करहरूसँग मिलेर अवैध असुली र तस्करी सञ्चालन भएको उजुरी उच्च तहसम्म पुगेपछि मात्र उनलाई हेडक्वार्टर तानिएको बताइन्छ। तर यादवका प्रमुख सहयोगी तथा घुमुवा कमाण्डर भनिएका सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल भने अझै पर्सामै ‘काज’ मा राखेर परिचालन भइरहेको आरोप छ, जबकि उनी औपचारिक रूपमा डोल्पा सरुवा भइसकेका छन्।

हेडक्वार्टर स्रोतका अनुसार, एसपी भट्टलाई सामान्य सोधपुछ गरी चेतावनी मात्र दिइएर पुनः पर्सा पठाइएको छ। भन्सार छली, तस्करी नियन्त्रणमा असफलता र घुमुवा दुरुपयोगसम्बन्धी आरोप हुँदाहुँदै पनि कारबाही नहुनुले संगठनको शून्य सहनशीलता नीति कागजमै सीमित भएको टिप्पणी बढ्दै गएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदभार सम्हालेसँगै सादा पोसाकमा घुमुवा परिचालन नगर्ने, उल्लंघन भए कार्यालय प्रमुखलाई कारबाही गर्ने स्पष्ट लिखित निर्देशन जारी गरेका थिए। करिब चार सय घुमुवा एकैपटक फिर्ता बोलाइएको पनि सशस्त्रले जनाएको छ।

तर, पर्सामा भने संगठन प्रमुखको निर्देशनलाई नै चुनौती दिँदै गणपति स्वयंले घुमुवा परिचालन गरेको आरोप लाग्नुले नेतृत्वको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ। पर्साको यो घटना सशस्त्र प्रहरी संगठनभित्रको दोहोरो मापदण्डको ज्वलन्त उदाहरण बनेको उनीहरूको भनाइ छ।

Leave a review

This will close in 0 seconds