मधेश प्रदेश स्तरीय दोस्रो स्क्र्याबल प्रतियोगिता सिमरामा सुरु

साझेदारी दैनिक
276 पाठक संख्या

जीतपुर : सिमराको बिहान केही फरक देखिन्थ्यो । कक्षाकोठाभित्र होइन, स्क्र्याबल बोर्ड वरिपरि विद्यार्थीहरूको ध्यान केन्द्रीत थियो। अक्षरहरूलाई शब्दमा जोड्दै, शब्दलाई अंकमा रूपान्तरण गर्ने उत्साहबीच बाराको सिमरामा दोस्रो प्रदेश स्तरीय स्क्र्याबल च्याम्पियनशिप सुरु भएको छ ।

‘स्क्र्याबल च्याम्पियनशिप २०२५’ नाम दिइएको उक्त प्रतियोगिता सिमरास्थित सिमरा पब्लिक इङ्ग्लिस स्कुलको आयोजनामा दुई दिनसम्म सञ्चालन हुँदैछ। प्रतियोगितामा बारा, पर्सा र सिरहा जिल्लाका निजी विद्यालयका ५० जना विद्यार्थी सहभागी छन्। बाराका मात्रै १५ वटा विद्यालयबाट विद्यार्थी सहभागिता जनाउनु यस क्षेत्रका विद्यालयहरूबीच बढ्दो शैक्षिक प्रतिस्पर्धाको संकेतका रूपमा हेरिएको छ ।

विद्यालयको प्राङ्गण शुक्रवार खेलमैदान जस्तै बनेको छ, जहाँ खेल बल र ब्याट होइन, अक्षर र शब्दमार्फत प्रतिस्पर्धा भइरहेको छ। स्क्र्याबल बोर्डमा शब्द बनाउँदै अंक जोड्ने क्रममा विद्यार्थीहरू सोच्ने, योजना बनाउने र भाषा सीप प्रदर्शन गर्ने अवसर पाइरहेका छन्। खेलको माध्यमबाट सिकाइलाई प्रभावकारी बनाउने नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको सिमरा पब्लिक इङ्ग्लिस स्कुलका संस्थापक अध्यक्ष शालिकराम अधिकारी बताउनुहुन्छ ।

प्रतियोगिताअन्तर्गत राष्ट्रिय स्तरमा १६ राउण्ड खेलाइने व्यवस्था भए पनि सिमरामा आयोजना गरिएको यस चरणमा १४ राउण्ड खेलाइनेछ। दुई दिनसम्म चल्ने प्रतियोगितामा खेलाडीहरूले शुक्रबार र शनिबार लगातार प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन शुक्रवार एक औपचारिक समारोहबीच सम्पन्न भयो। सिमरा पब्लिक स्कुलका प्रिन्सिपल वसन्त ढकालको अध्यक्षता तथा बारा प्रदेशसभा क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा बोल्दै वक्ताहरूले शैक्षिक खेलहरूले विद्यार्थीको सोच, भाषा र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने तीन जना खेलाडीलाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिनेछ। त्यसका साथै भविष्यमा सम्भावना बोकेका प्रत्येक जिल्लाबाट एक।एक जना उदयीमान खेलाडीलाई समेत छनोट गरी ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।

Leave a review

This will close in 0 seconds