कलैया । बिरगंजको नारायणी अस्पताल भ्रष्टाचार मुद्दामा शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह र नारायणी अस्पताल वीरगञ्जका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) संजय कुमार ठाकुरसहित १० जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतको इजलास नम्बर १ का अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज उनीहरूलाई अभियोगबाट सफाइ दिएको हो।
सफाइ पाउनेमा शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर मोहम्मद सकुर अन्सारी, नारायणी अस्पतालका नासु सुशीलप्रसाद यादव, तत्कालीन लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी रहेका छन्।
त्यसैगरी ठेकेदार कम्पनी मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रबन्ध निर्देशक तथा लुम्बिनी–मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा तथा लुम्बिनी–मिसन जेभीसमेतले सफाइ पाएका छन्।
नारायणी अस्पताल वीरगञ्जको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेसु संजय कुमार ठाकुरसहित नौ जना व्यक्ति र एक ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा २०८२ वैशाख २१ गते मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा प्रतिवादीहरूले सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी एक करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ ०७ पैसा भ्रष्टाचार गरेको आरोप लगाइएको थियो। अख्तियारले सबै जनामाथि सोही रकम बराबरको बिगो दाबी गरेको थियो।
आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउनु पर्ने काम रहेको थियो ।

