थारु संस्कृति पहिचान र एकताको आधार हो : केन्द्रीय उपाध्यक्ष चौधरी

साझेदारी दैनिक
243 पाठक संख्या

करैयामाई : धीरेन्द्र पनुहर/ बाराको करैयामाई गाउँपालिका–२ स्थित इमिली पर्तीमा थारु माघी सांस्कृतिक महोत्सव २०८२ बिहीबारदेखि भव्य रूपमा सुरु भएको छ। थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचान संरक्षण गर्ने उद्देश्यले थारु कल्याणकारणी सभा बारा जिल्ला समितिको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।

माघ ३ गतेसम्म चल्ने महोत्सवको उद्घाटन सभाका केन्द्रीय उपाध्यक्ष हृदयनारायण चौधरीले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले थारु माघी पर्व केवल चाड मात्र नभई सामाजिक एकता, पहिचान र संस्कृतिको प्रतीक भएको बताउनुभयो ।

“थारु समुदायको इतिहास, संस्कृति र परम्परा जोगाउन यस्ता महोत्सव अत्यन्त आवश्यक छन्,” उहाँले भन्नुभयो, “माघीले थारु समुदायलाई एकतामा बाँध्नुका साथै नयाँ वर्षको सुरुवातको सन्देश पनि दिन्छ।”

उद्घाटन समारोहका विशिष्ट अतिथिहरूमा रहेका संविधानसभा सदस्य बलवीर चौधरी महोत्सवले थारु समुदायका युवा पुस्तालाई आफ्नो संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीलले आजका युवाहरू आधुनिकतासँगै आफ्नो मौलिक पहिचान बिर्सन नदिन यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताएका छन।

सोही अवसरमा बोल्दै कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले थारु संस्कृति मधेसको साझा पहिचान भएको उल्लेख गर्दै स्थानीय तहले यस्ता सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्दै आएको बताउनुभयो। “संस्कृति जोगिए मात्र समाज बलियो हुन्छ,” प्रमुख चौधरीले भन्नुभयो।

यस्तै कार्यक्रममा सम्बोधन गर्दै करैयामाई गाउँपालिका अध्यक्ष शम्भु यादवले गाउँपालिकाले थारु समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। “स्थानीय सरकारको दायित्व संस्कृति संरक्षण पनि हो,” अध्यक्ष यादवले बताएका छन ।

यस्तै कार्यक्रममा मधेस प्रदेशका पूर्व अर्थ राज्यमन्त्री उषा यादव, थारु कल्याणकारणी सभा जिल्ला कोषाध्यक्ष बासु प्रसाद चौधरी, सदस्य सञ्जय कुमार चौधरी, कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी, सभाका कोल्हबी नगर सभापति रामनाथ चौधरी, जीतपुरसिमरा नगर सभापति राजेन्द्र प्रसाद चौधरी लगायत थारु समुदायका अगुवाहरूले सम्बोधन गर्दै थारु माघी पर्वको ऐतिहासिक महत्व, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणबारे धारणा राख्नुभएको थियो।

महोत्सवको पहिलो दिन स्थानीय थारु कलाकारहरूले थारु गीत, थारु संस्कृतिलाई झल्काउने झाँकी तथा परम्परागत नृत्य प्रस्तुत गर्दा दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रस्तुत सांस्कृतिक झलकले थारु समुदायको जीवनशैली र परम्परालाई जीवन्त रूपमा देखाएको सहभागीहरूको प्रतिक्रिया थियो।

महोत्सव अन्तर्गत शुक्रबार थारु समुदायकी चर्चित गायिका अन्जु कुश्मीको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै अन्य दिनहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य तथा लोकगीत प्रस्तुत गरिने जनाइएको छ।

थारु कल्याणकारणी सभाका जिल्ला सभापति रामप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त महोत्सव उद्घाटन कार्यक्रमको सभाका जिल्ला सचिव यादव कृष्ण चौधरीले सञ्चालन गरेको थिए भने करैयामाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सुरेन्द्र चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो।

महोत्वमा स्थानीय थारु कलाकारहरूको प्रस्तुति रहनेछ। माघ २ गते चर्चित थारु गायिका अन्जु कुश्मीको एकल गायन तथा नृत्य प्रस्तुति रहनेछ भने माघ ३ गते नवलपरासीका शेरजंगको सांस्कृतिक झलक र थारु ठकरा नृत्यसहित महोत्सव समापन आयोजकले बताएको छ। महोत्सवका मुख्य प्रायोजक करैयामाई गाउँपालिका र कोल्हबी नगरपालिका रहेका छन्।

Leave a review

This will close in 0 seconds