पचरौता नगरपालिका-६ का वडा अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

साझेदारी दैनिक
445 पाठक संख्या

कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिकामा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको प्रकरणमा वडा अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार पचरौता नगरपालिका–६ का वडा अध्यक्ष मकबुल मियाँ अन्सारी, तत्कालीन वडा सचिवहरू संगिता घिमिरे, पिटर थारु र राजाराम प्रसाद साह तथा स्थानीय बासिन्दा साजुला मिया अन्सारी, रबेया अन्सारीन र उमत मिया अन्सारीले मिलेमतोमा उमेर नपुगेका व्यक्तिलाई जेष्ठ नागरिक भत्ता दिलाएको पाइएपछि मुद्दा दायर गरिएको हो।

अनुसन्धानमा वास्तविक जन्ममिति हुँदाहुँदै पनि नागरिकता तथा अन्य कागजातमा झुट्टा विवरण पेश गरी उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएको देखिएको अख्तियारले जनाएको छ। यसरी सरकारी कोषमा हानी नोक्सानी पुर्‍याई लाखौं रुपैयाँ बराबरको भत्ता लिएको प्रमाण फेला परेको आयोगको दाबी छ।

आयोगका अनुसार वडा कार्यालयले निवेदन दर्ता गर्दा सामाजिक सुरक्षा नियमावली, २०७६ अनुसार आवश्यक प्रारम्भिक छानबिन नगरी गैरकानुनी रूपमा वडा अध्यक्षले सिफारिस गरेको देखिएको छ। वडा अध्यक्षले जानाजानी उमेर नपुगेका व्यक्तिलाई जेष्ठ नागरिक भत्ता उपलब्ध गराउन सिफारिस गर्नुका साथै हरेक वर्ष नवीकरणसमेत गरिदिएको आरोप छ।

अख्तियारले वडा अध्यक्ष मकबुल मियाँ अन्सारीविरुद्ध ४ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ। यस्तै, अन्य प्रतिवादीहरूविरुद्ध पनि उनीहरूले लिएको भत्ता बराबरको बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलको माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds